किसान मार्सी धान रोपाइँमा व्यस्त – Janadesh Daily | ePaper

किसान मार्सी धान रोपाइँमा व्यस्त


खलङ्गा ।

कोरोना भाइरसको दोेस्रो लहर सङ्क्रमण रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि यस याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँको चटारोमा व्यस्त छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् ।

जुम्लामा मात्र उत्पादन हुने मार्सीको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेतीमा यहाँका किसानको सङ्ख्या पनि बढेको स्थानीय किसान सुनिता पाण्डेले बताउनुभयो । जेठ पहिलो सातादेखि नै मार्सी धान रोपाइँको चटारो शुरु भएको हो । कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहिआएको स्थानीय जानकार रमानन्द आचार्यले बताउनुभयो ।

स्थानीय कृषि क्यालेन्डरअनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ शुरु हुन्छ । कोरोना स¬ङ्क्रमणको जोखिम भए पनि किसानलाई रोपाइँ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धानखेती हुन्छ ।

जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ ।

मार्सी चामलको बजारभाउ प्रतिकिलो रु १२० छ । व्यापारी सो चामल खरिद गर्न घरघरमा आउँछन् । मार्सी चामलको जति चर्चा छ । उत्पादनमा त्यति नै मेहनत खर्चनुपर्छ । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिक महिनाको पहिलो सातादेखि घरमा भित्र्याउने गर्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्