झन् पछि झन् अफ्ठेरोमा ओलीः आजदेखि विपक्षी गठबन्धनको आन्दोलन – Janadesh Daily | ePaper

झन् पछि झन् अफ्ठेरोमा ओलीः आजदेखि विपक्षी गठबन्धनको आन्दोलन


जनादेश अपडेट ।

५ दलीय गठबन्धनले संसद विघटनविरुद्ध संघर्ष सुरु गर्ने निर्णय गरेको छ । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको हो ।

संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै सरकारविरुद्ध दबाबमूलक कार्यक्रम अगाडि सार्ने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आवद्ध गठबन्धनले पत्रकार, नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।

गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुने जानकारी दिए। बिहीबारै मुख्य सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तर्क्रिया समेत गरिने नेता अधिकारीले जानकारी दिए।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । यस्तै एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

यसअघि विपक्षी गठवन्धनका ५ दल समर्थित विद्यार्थीहरुले ओली सरकारविरुद्ध बिहीबार विरोध प्रदर्शन गरिने बताएका थिए। विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिने जनाएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्