ओस्कार जित्‍ने नेपाली फिल्मलाई बोर्डले ८ लाख दिने – Janadesh Daily | ePaper

ओस्कार जित्‍ने नेपाली फिल्मलाई बोर्डले ८ लाख दिने


जनादेश, काठमाडौँ । चलचित्र विकास बोर्डले ओस्कार जित्ने नेपाली फिल्मलाई ८ लाख रूपैयाँ दिने निर्णय गरेको छ । बोर्डले २०७७ कार्तिकमा स्वीकृत गरेको ‘चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने सम्बन्धी कार्यविधि’ मा ओस्कारमा छनोट भएको फिल्मलाई २ लाख दिने निर्णय गरेको हो ।

बोर्डले फिल्म महोत्सव, अवार्ड कार्यक्रम र फिल्म कार्यशालामा स्वदेशी फिल्म वा फिल्मकर्मीको मनोनयन र सहभागिता भएको अवस्थामा अनुदान रकम छुट्याएको छ । बोर्डले गोल्डेन ग्लोब अवार्डमा छनोट हुने फिल्मलाई १ लाख र अवार्ड जित्नेलाई २ लाख दिने भएको छ । एसिया प्यासिफिक स्क्रिन अवार्डमा छनोट हुने फिल्मलाई १ लाख र जित्नेलाई १ लाख ५० हजार दिनेसमेत कार्यविधिमा उल्लेख गरिएको छ ।

कान्सदेखि विश्वप्रख्यात फेस्टिभल बर्लिन, भेनिस, लोकार्नो, टोरोन्टो, सन्ड्यान्स र इन्टरनेस्नल फिल्म फेस्टिभल रोटरड्याममा जाने लघु फिल्मलाई १ लाख र फिचर फिल्मलाई २ लाख ५० हजार दिने निर्णय भएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र अवार्डको सूचीमा अन्य फेस्टिभललाई फरक/फरक रकम छुट्याइएको छ ।

टोरिनो फिल्म ल्याबमा जाने फिल्मलाई यात्रा खर्च ३ लाख र सहभागिता खर्च २ लाख दिने पनि कार्यविधिमा उल्लेख छ । युरोपियन अडियोभिज्वल आन्टरप्रेनर, द स्याम स्पिगल इन्टरनेस्नल र लेस इज मोर ल्याबमा जाने फिल्मको हकमा पनि अनुदानख रकम यही तोकिएको छ ।

यस्ता फिल्म फेस्टिभल र ल्याबमा मनोनयमा परेका फिल्मकर्मीलाई प्रोत्साहन र सहयोग गर्न अनुदान घोषणा गरेको बोर्डका सूचना अधिकृत चिरञ्जिवी गुरागाईंले बताए । ‘पुजा गुरुङ र विभुषण बस्नेतको फिल्म कान्समा छनोट पर्दा उनीहरुलाई फेस्टिभलले त्यहाँ बस्ने खर्च मात्र दियो । यात्रा खर्च दिएन । उनीहरुले यात्रा खर्च नभएर कान्समा नजाने कुरा गरेका थिए,’ गुरागाईंले भने,’त्यो कुरा सुन्दा बोर्डलाई खड्कियो । त्यसैले त्यस्ता फिल्मकर्मीलाई ती फेस्टिभलसम्म पुग्ने वातावरण मिलाइदिनु पर्‍यो भनेर यो कार्यविधि बनाएका हौं । कोही व्यक्ति ती फेस्टिभलमा जान चाहन्छ भने टिकटकै कारण नरोकियोस् भनेर यो कार्यक्रम ल्याएका हौं ।’

कार्यविधि पास भएसँगै धेरैले यसको विरोध पनि गर्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्