नौटङ्कीकारको कुर्सी माहात्म्य – Janadesh Daily | ePaper

नौटङ्कीकारको कुर्सी माहात्म्य


डा. पदमराज कलौनी

नौटङ्कीको अर्थ स्वाँङ पार्नु हो । स्वाँङलाई कलात्मक रूपमा प्रस्तुत गरिने कलालाई नौटङ्की भनिन्छ । नौटङ्कीमा लीलाझैँ स्वाँङ पारिन्छ । नेपालको राजनीतिमा घटित हुने चमत्कारिक घटनालाई स्वयं नेताहरू नौटङ्कीको संज्ञा दिन्छन् । भारतमा लोक-नाट्यमा आधारित रही नौटङ्की देखाउने प्रलचन छ । रामलीला, कृष्णलीला आदि नाटक नौटङ्कीको रूपमा रङ्गमञ्चन गरिन्छ । रङ्गमञ्च अस्थिर र कामचलाऊ हुन्छ । भारतका ग्रामिण भूभागमा नौटङ्की अत्यन्त लोकप्रिय लोककला मानिन्छ । नौटङ्कीको प्रभावकारिताले जनमानसको मन र मस्तिष्क आकर्षित गरेको हुन्छ । उहिले ग्रामिण क्षेत्रमा मनोरञ्जनका प्रयाप्त साधन नहुने हुँदा नौटङ्की प्रख्यात विधा मानिन्छ । नौटङ्की मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिइन्छ । नौटङ्कीको माध्यमले सामाजिक कुरीतिलाई उजागर गरी कुरीतिका बिरूद्ध सन्देश दिइन्छ । यसको सम्बन्ध धार्मिकतासँग हुँदैन् र यसलाई साङ्गीतिक रूपक मानिन्छ । प्रसिद्ध लोककथालाई नौटङ्कीको माध्यमले मञ्चन गरिन्छ । नौटङ्कीमा श्रृङ्गार रस, प्रेमगाथा, प्रेमलीला, रोमाञ्चकारी संस्पर्श हुन्छ । कथाको सारवस्तु जे जुकै भए पनि नाटकमा स्वाङ पारिने हुँदा नौटङ्की भनिएको हो ।

नौटङ्कीमा स-साना बालवालिकालाई महिलाको भेषमा अभिनय गराइन्छ । नाटक देखाउनु अघि दृश्य र पात्रका बारेमा उदघोषक वा व्यवस्थापकले दर्शकलाई जानकारी दिन्छ । पात्रको लौकिक वीरता, प्रणयी, साहसिक, भक्ति आदिका बारेमा वर्णन गर्छ । नौटङ्कीमा हास्यरस, लोककथा, पात्रको चरित्र चित्रण, सङ्गीत, संवाद समयोजन, भाषाशैली आदिको समिश्रण पाइन्छ । जनमानसको भावना र सन्देश उखान टुक्कामा अभिव्यक्त गरिन्छ भने सारङ्गी, तबला, हारमोनियम र नगाडा आदि वाद्यवादनको प्रयोग गरिन्छ ।

कुर्सीको नामकरण पद, दर्जा र ओहदानुसार फरक फरक हुन्छ । जनसाधारणले गाउँघरमा चुल्हो चौकोमा बस्दा पीठिका, पिरा, पिर्का वा बैठकीमा बस्छन्  आसन वा आसनीको प्रयोग पूजापाठ गर्दा ओछ्याउछन् । पवित्रताको दृष्ट्रिकोणले कुशासन (कुशको आसन), मृगाचर्म (मृगको छाला) आदि मानिन्छ । आधुनिक युगमा भद्रभलादमी, जनप्रतिनिधि, हाकिमहरूले बस्नेलाई आसनलाई आरामदायी कुर्सी वा ह्वील चियर भनिन्छ । कखरा पढाउने माडसापहरूले हाते कुर्सीमा चित्त बुझाउछन् । ठुलठूला पूँजीपति बस्नेलाई गद्दी भन्छन् । राजा महाराजाले बस्ने आसनलाई राजसिंहासन भनिन्छ । सिंहासनमा बिराजमान हुनेहरू खुट्टालाई आराम गर्न आसन्दिका वा पाउदान वा पादपीठको प्रयोग गर्छन् । बसाइँ र सन्दर्भ अनुसार कुर्सीको नाम र काम फरक फरक हुन्छ । सर्वसाधारण जनताका अगाडि सहभागि हुने कार्यक्रममा नेताहरूलाई मञ्चमा बसाउँदा सामान्यतया आशन ग्रहण भनिन्छ । व्यवहारिक रूपमा घरका कुना कन्दरामा बसाउँदा राज होस भनिन्छ । आँखिराँ यी सबै तुक्का र सन्दर्भ कुर्सीका लागि प्रयोग हुने शब्दावली हुन् ।

कुर्सीमा आसिन राजनेता प्रति कुनै अन्य दलको वा सत्ताधारी कै नेताहरूले मन पराएनन् भने “राजीनामा दे” भन्छन् । अर्थात उसलाई निवृत गराउने प्रपञ्च गर्छन् । औपचारिक रूपले राजकीय कुर्सीबाट ओराल्ने प्रयास राजीनामा हो । कुर्सीसासिनले आज्ञाकारी भै राजीनामा दिने कुरै आउदैन् । उसको मन र मस्तिष्कले कुर्सीबाट उतर्न दिदैन् । कार्यकारी पदवाला होस वा अर्दली, कुर्सीबाट कोही झर्न चाहदैनन् । पढालिखादेखि अनपढहरु चमत्कारिक राजनेता भएपछि ठूलो कुर्सी हत्याउन खोज्छन् । जन्मजात कुर्सीधिकारीमा कर्मचारी र नेता पर्छन् । उनीहरू जीवनभर कुर्सीका लागि प्रतिस्पर्धा गर्छन् । कुर्सीबाट उत्रर्ने समय आयो कि परेशान हुन्छन् । अनेकन बहाना गर्छन् । सोचे अनुसार हिसाब मिलान भएन भने संसार गुमेको ठान्छन् । सर्वस्व गुमेको ठान्छन् । मानौं सार्वभौम सत्ता गुम्दैछ । लोभी पापीहरू निवृत हुनु भनेको स्वतन्त्र होइन कि मृत्यु सय्या प्राप्त भएको ठान्छन् । कुर्सीमा बस्न जोसुकै उताउला हुन्छन् । लामो दौड दौड्न तत्पर हुन्छन् । उतर्ने समय स्वाङ पार्छन् । कुर्सीलाई मन्दिरको रूपमा बुझ्नेहरू पवित्र भावले छलकपट नगरी कार्य गर्छन् । हातचिल्लो नपारीकनै काम फत्ते गर्छन् । कर्मस्थललाई पवित्र बनाउँछन् । जनजनमा बास गर्दै हाई हाइ हुन्छन् । लोभीका लागि कुर्सी बैतरिणी तर्ने पुल हो । आफ्नो हात जगन्नाथ बनाउने साधन हो । उनीहरु कुर्सीमा प्राण प्रतिस्थापित गर्छन् । कुर्सी अम्मली थरथरिका हुन्छन् । कुर्सीको चारैतिर परिक्रमा लगाउछन् । कुर्सीवाललाई देवाधी देवझैँ पुज्छन् । कुर्सीको परिक्रमा गर्न नजान्नेलाई माल पाएर चाल नपाएको ठान्छन् । उसले बाटो भटकेको अनुमान लगाउछन् । कुर्सीको परिक्रमा लगाउन सकिएन भने काम जहाँको त्यही अटकिन्छ । परिक्रमा लगाउनेहरू आफ्नो काम तमाम पार्छन् । सदाको लागि मार्ग प्रसस्त गर्छन् । रोजेको खोजेको हात पार्छन् । राजनीतिक व्यवस्थामा नेताहरू र उनीहरूले परिचालन गर्ने कर्मचारी आफैमा एउटा तन्त्र बनाएर बावु साहेव बनेका हुन्छन् । नेता, अभिनेता र कर्मचारी सबै बेइमान हुदैनन्, कोही त असाध्यै ईमान्दार हुन्छन् । इमान कमानमा रहेकाहरू कसैको काम जथाभावी अटकाउन्नन् । इमानवालाले कुर्सीको परिक्रमा गर्दैनन् । कुनै कुर्सीको आदत परिक्रमा गराउने खालको हुन्छ । नेपालमा कुर्सीको परिक्रमा गर्नु परम्परागत संस्कार छ । शक्तिमा रहेका नेता र कर्मचारीको नजिक भएर कुर्सी परिक्रमा गर्नेलाई खान्दानी मानिन्छ । उनीहरू परिक्रमा गर्न पाएनन् भने रोग, सोक र भोकमा डुब्छन् । कुर्सी परिक्रमाको सम्बन्ध दैदस्तुरी, सेवा सत्कार, कोसेली आदिसँग घनिष्ठ सम्बन्ध राख्छ ।  एउटा कुकुरको छाउराले मानिस बस्ने कुर्सी पायो भने मजाले बस्छ, हौसिन्छ र फुर्किन्छ । सामान्य मानिसकलाई टेर्दैन् । कुर्सी बपौती ठान्छ र आशनमा शासन हुन्छ भन्ने हेक्का राख्छ ।

नेपालमा कुर्सी माहात्म्य ठूलै छ । कुर्सीको आडमा देश र जनताको तन, मन र धन पोल्टामा घुसार्न्छन् । बडेमान कुर्सीवालहरू सजिलै उदघाटन, विमोचन, अभिन्दन, अनावरण, शिलान्यस, भाषण भुषण आदि इत्यादिमा आफ्नो बडप्पन देखाउँछन् । चेलाचम्चाले वाहवाही बटुल्छन् । जिन्दावाद भन्दै गगनभेदी नारा ठोक्छन् । नाराकै कारणले कयौं चेलाचम्चाहरू कुर्सी धारक हुन्छन् । कुर्सीको रापतापमा साम, दाम, दण्ड र भेद चलाउछन् । उनीहरुका जस्तासुकै अपराध मिनाहा हुन्छन् र देशका ठूलबडामा दर्ज हुन्छन् । कुर्सीले नीच व्यक्तिलाई परमाधिपति बनाएर सुकिलो मुकिलो बनाउँछ । उसको अस्तित्व उजालिन्छ । हुतिहाराका लागि कुर्सी अधिकारपूर्ण खुशी हुन्छ । आनन्दको अनुभुति गर्छ र कर्तब्य बिर्सन्छ । परार्थवादीका लागि कुर्सी नासो र जिम्मेवारी बन्छ । शालिन सौम्य हुँदै जनता प्रति उत्तरदायी बनाउछ । मपाईत्वको नाश गर्दै हामीमा परिणत हुन्छ । नीचहरूका लागि कुर्सी मपाईत्व, मान, सम्मान र शत्रुनाशक शक्तिको साधन बन्छ । बिध्वंशको पथ हुन्छ । कुर्सीको आडमा गुटबन्दी फस्टाउछ । कुलङ्कारले कुर्सी पाउनु भनेको विनाश निम्त्याउनु हो । शाखासन्तानका लागि अकुत कमाउने लोकमार्ग हो । कुर्सी चुरीफुरी लगाउने अवसर हो । यसर्थ कुर्सी स्वार्थ पुर्ति गर्ने झाङिएको विशाल वृक्ष हो ।

कुर्सीको दुरूपयोगका कारणले जनमानसमा पैशा खुवाएर मात्र काम हुन्छ भन्ने मान्यता छ । कुर्सीको महिमा र गरिमाले जनसाधारणलाई प्रभावित गर्छ । कुर्सी स्वयंले गलत र सही छुट्याउदैन् । कुर्सीको वर्गीकरण आफ्नै पाराको हुन्छ । एउटै घुम्ने कुर्सीमा जनता बसे त्यो शक्तिहिन हुन्छ । थकाइ मार्ने साधन बन्छ । कर्मचारीले बस्ने बित्तिकै तह (पद) शक्ति निर्धारण गर्छ । नेताले विराजमान भए व्यक्तित्वलाई निखार्छ । कार्यकारी अधिकारी हो भने अथाह शक्तिको मालिक हुन्छ । ऊ हावामा बैलुन झैँ फुल्छ । दायित्व भन्दा अधिकार जमाउँछ । देश विदेश हल्लाउन सक्छु भन्ने आडम्बरी बन्छ । कुर्सी विहीन नेता फुटेको बेलुन जस्तो खोस्टो हुन्छ ।

कुर्सी भोगीहरू कुर्सीबाट उत्रने बित्तिकै ओइलाउँछन् । कुर्सी जुनसुकै वस्तुबाट बनेको होस बसाहाहरू हिरामोतीझैँ बहुमूल्य ठानेर मरिहत्ये गरी छोड्न मान्दैनन् । राजाको सिंहासनमा हिरा, मोती, मणि, सुन लगायतका बहुमुल्य रत्नले बनेको हुन्छ रे ! राजाले सजिलै सिंहासन (कुर्सी) छोड्दैनन् । राजा ज्ञानेन्द्रले कुर्सी छोड्दा निवृत भए । निवृत हुनेहरू राजीखुशीले कहिल्यै कुर्सी छोड्दैनन् । कुर्सी छोड्दाको पीडा सबैको अनुहारमा झल्किन्छ । कुर्सीमा विराजमान हुने बित्तिकै अनेकन पीडाबोध गर्नेहरू छोड्दा चित्त दु:खाउछन् । निवृत हुँदा पनि गद्दी ताक्नेहरू अधिकांस नेता हुन्छन् । उनीहरू आफ्ना प्राणपखेरू कुर्सीमै बिताउन चाहन्छन् । राजा भएका मुलुकमा राजकुमारले जतिसुकै गद्दीमा बस्न आँतुर भए पनि राजा नमर्दा राजकुमारले कुर्सी पाउदैनन् । राजकुमार सिंहासनविहीन हुन्छन् । कुर्सी पाउनु भनेको शक्ति हो । राजा दीर्घजीवि हुनुले राजकुमारहरू कुर्सीका लागि धैर्यधारण गरी बसुन भन्ने हो । राजा निवृत हुनु भनेको स्वर्गे हुनु वा सन्यास लिनु हो । संसारमा राजनीतिक तिगडमले हत्याइने कुर्सीहरूका पछाडि आआफ्नै षडयन्त्रका कथा हुन्छन् । ठूलठूला युद्ध कुर्सीका लागि भएका छन् । महाभारत होस वा रामायण आदिमा युद्ध देखिन्छ । कुर्सीका लागि त्याग गर्ने भनेका दीन दु:खी हुन् । त्यागले कुर्सी पाइदैन् ।

कुर्सीमा विराजमान हुने बित्तिकै विपक्षले “कुर्सी छोड” भनेमा कुर्सीवालले उसको बङ्गारा फुत्काउने प्रयास गर्छ । शान्ति सुव्यवस्थाको नामले ठोकिदै जेलनेल कोच्छ । नेपालमा कुर्सी माहात्म्य धेरै लामो ऐतिहासिक संघर्ष देखिन्छ । कुर्सी कै कारणले राणाहरूले श्री ५ लाई सीमित आकारमा ल्याएका थिए । कुर्सी हत्याए पश्चात राणाहरूले १०४ वर्षसम्म जनतालाई सीमाबद्ध गरे । गादगादी ताकेको भन्दै हजारौंलाई घाट उतारे । राजा र राणाहरू खान्दानी कुर्सीखोर भए । कुर्सी गुम्दाको अवस्था टिठ लाग्दो र निरीह हुन्छ ।

कुर्सीलालहरू कुर्सीमा जीवन बिताउने चेष्टा गर्छन् । मानौ उनीहरू कुर्सीका लागि जन्मेका हुन् । कुर्सीमा चपक्क चिप्किन चाहन्छन् । कुर्सीले उनीहरूलाई आकर्षित नगरे पनि र्‍याल काढ्दै बस्छन् । उत्तराधिकारीलाई निमिट्यान्न पार्छन् । ढुक्नेलाई कुट्छन् । ससाना कुर्सीधारक गणेशहरु ठूलो कुर्सीको परिक्रमा गर्छन् । विश्वास दरिलो पार्छन् र मौकामा चौका हानेर कुर्सीवाल हुन्छन् । कुर्सीखोरहरू अर्काको कुभलोमा आफ्नो भलाइ देख्छन् । भुतपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले पनि कुर्सी मोहकै कारणले हारेर पनि हराएको आरोप लगाए । धाँधली भयो भने । कुर्सी छोड्दैन भनी कस्सिए । यसरी कुर्सीको महिमा संसारमय छ । देवाधिदेव महादेवदेखि केपी शर्मा ओलीसम्म सबैमा कुर्सीको मोह हुन्छ । खुट्टाबजार्ने सिपाही हुन् चाहे परमाधिपतिले पनि कुर्सी छोड्न मान्दैनन् । पदलोलुपको कुर्सी टँसाइले देख्नेहरू चिप्किन लालायित हुन्छन् । कुर्सीको महिमा अनन्त छ । प्रेमीकाको मनमा प्रेमीले वास गरेझैँ कुर्सी आशिक जे गर्न तयार हुन्छ । राष्ट्रघात गर्दै ईमान, कमान, धर्म, कर्म, धन, सम्पति सबै दाउमा लगाउछन् ।

शासन प्रशासनको ऐतिहासिक संघर्षको कथा व्यथा कुर्सीकै लागि हुन् । कुर्सीमा संसार छ । ब्रह्माण्ड छ । संसारका सबै सुख भोग्न पाइन्छन् । कुर्सीकै प्रपञ्चमा अयोध्याका राजा रामको वनवास भयो । पाण्डवहरू गुप्तवास गए । कुर्सी संघर्ष सदियौं देखि चलिआएको छ । नेपालमा चलि आएको राजनीतिक संघर्षको गाथा पनि कुर्सी युद्ध हो । मार्क्स कुर्सी बिरोधीथिए उनले सबैलाई कुर्सी पाइनु पर्छ भने । महात्मा गांधी र गणेशमान सिंह पनि कुर्सी बिरोधी थिए । वहाँहरूले आफुलाई कुर्सीमा बसाउनु भन्दा कुर्सीको समानताको वकालत गरे । नेपालमा कुर्सीको संघीयता आएको छ । वडा वडादेखि बालुवाटारसम्म कुर्सीको बिकेन्द्रीकरण गरिएको छ । चारैतिर कुर्सी बहादुरहरूको युद्ध चलेको छ । कुर्सीको दौडमा कति पछारिन्छन कति उकालिन्छन् । मनको लड्डु घीउसित खानु भनेझैँ कुर्सी मोह नभएको मान्छे हुँदैनन् । कुर्सीमा सर्वस्व र दर्शन छ । कुर्सी कै भजन गाएर गाइने भएका छन् । कोही कुर्सी प्राप्त गरे पछि शक्तिशाली भएका छन् । कुर्सी प्राप्त गरे पछि अनेकन बहानामा स्वाङ पार्नेलाई सफल नौटङ्कीकार भन्नु अत्युक्ति नहोला ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्