माधव नेपाललाई अध्यक्ष दिन तयार रहेको ओलीको उद्घोष शंकर पोखरेलद्वारा खण्डन – Janadesh Daily | ePaper

माधव नेपाललाई अध्यक्ष दिन तयार रहेको ओलीको उद्घोष शंकर पोखरेलद्वारा खण्डन


जनादेश अपडेट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार रहेको बताएका छन्। ललितपुरको च्यासलमा तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।

उनले सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिए बमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको पनि बैठकमा बताए ।

‘हामी एमालेको एकता बचाउनका लागि हदैसम्म लचिलो भएका छौँ’, ओलीको भनाइ उद्धत गर्दै एकजना केन्द्रीय सदस्यले नेपालखबरलाई भने, ‘अन्तिम अवस्थासम्म पनि एकताका लागि प्रयास जारी राखेका छौँ।’

ओलीले जेठ २ मा गठित कार्यदलले असार २७ गते सिंहदरबारमा जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि आफू प्रतिवद्ध रहेको पनि बताएका छन्। ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिवद्ध छु’, उनले बैठकमा भनेका छन्, ‘एकता भएमा कार्यदलको सहमति अनुसार नै पार्टीका सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्।’

सात वर्षअघि काठमाडौंमा भएको नवौँ महाधिवेशनमा आफैँसँग पराजित वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको पनि ओलीले घोषणा गरेका छन्। ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागेका छन्’, उनले भने, ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल यदि आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु।’

तर एकताका लागि आफू हदैसम्म लचिलो हुँदा पनि नेपालले अनेक बहाना गरेको गुनासो गरेका छन्। ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ, गरिएको छ’, उनले अगाडि भने, ‘यतिसम्म लचिलो हुँदा पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरु, त्यस्तो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्।’

ओलीले संसदमा आफ्नै पार्टीको सरकारविरुद्ध मत हालिएको भन्दै आक्रोश पोखे। ‘संसदमा आफ्नै पार्टीको सरकारविरुद्ध मत हालियो। यस्तो काम अनैतिक, अराजनीतिक र आपराधिक पनि हो’, उनले भने, ‘तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु। म अझै पनि थाकेको छैन कमरेडहरु !’

बुधबारै बुद्धनगरमा बसेको माधव पक्षीय स्थायी कमिटी बैठकले पनि एकताकै लागि अन्तिमसम्म जोडबल गर्ने निर्णय लिएको थियो। सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि एमाले एकतामै आफूहरुले जोड गर्ने जानकारी नेपाल पक्षीय नेता रघुजी पन्तले दिएका थिए।

अहिले अध्यक्ष बनाउने भन्या होइन- शंकर पोखरेल
एमाले अध्यक्ष ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको खबर सार्वजनिक भएलगत्तै ओली गुटका प्रभावशाली नेता शंकर पोखरेलले भने फरक प्रतिक्रिया दिएका छन्।

‘माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली’ शीर्षकको समाचार सेयर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेखेका छन्, ‘अदालतको फैसलापूर्वको सन्दर्भमा भनिएको कुरालाई आजको सन्दर्भमा भनेको भनेर नराखेको भए हुन्थ्यो।’

शंकर पोखरेलले अध्यक्ष ओलीले अहिलेको सन्दर्भमा होइन, अदालतको फैसलापूर्व (प्रतिनिधि सभा पुनःस्थापना पहिले) को सन्दर्भमा भनिएको र अहिलेको सन्दर्भमा नभनिएको उनको ब्याख्या छ ओलीको घोषणा अहिले लागू नहुने संकेत पनि गरेका हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्