प्रचण्डलाई भीम रावलको जवाफ- म ढलेको होइन – Janadesh Daily | ePaper

प्रचण्डलाई भीम रावलको जवाफ- म ढलेको होइन


जनादेश सोसल मिडिया वाच ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिएका छन् । प्रचण्डले प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धनबाट आफूलाई ‘ढलेको’ आरोप लगाएपछि रावलले लामो जवाफ दिएका हुन् ।

शनिबार काठमाडौंमा अध्यक्ष प्रचण्डले पााँचदलीय गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको टिप्पणी गर्दै रावलले प्रतिनिधिसभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको टिप्पणी गरेका थिए ।

‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ,’ रावलले शनिबार राति वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुष्पकमल दाहाल (प्रचण्ड) जीले भन्नुभएझैं ‘ढलेको’ होइन ।’

यस्तो छ रावलको जवाफः

– मैले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको रहेछ । मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ ।

– गठबन्धन प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको हो । यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो । कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन् । साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो ।

– प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो र ?

– हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्यायौं । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?

-मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्न त्यसलाई ‘नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो । पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्