ओलम्पिकमा अग्र स्थानमा रहेको चीनमा आफ्नै देशकी विजेता खेलाडीको एक तस्विरले तरंग – Janadesh Daily | ePaper

ओलम्पिकमा अग्र स्थानमा रहेको चीनमा आफ्नै देशकी विजेता खेलाडीको एक तस्विरले तरंग


अन्तर्राष्ट्रिय अपडेट ।

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म ६ स्वर्ण, १ रजत र ४ कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् ।

शीर्ष स्थानको चीनमा आफ्नै खलाडीको तस्विरले तरंग
चिनियाँ खेलाडी होउ झिहुईले शनिबार ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्राम तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितिन्। २४ वर्षीय होउजस्तै अरू चिनियाँ खेलाडीले पनि जारी ओलम्पिकमा स्वर्ण जितेका छन्। चीच पदक तालिकामा शीर्ष स्थानमा रहेको भएपनि अहिले चीनमा चर्चा पदकको भन्दा पनि होउको एउटा तस्बिरको भइरहेको छ।

बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीहरूमा पनि तरंग ल्याएको छ, आक्रोशित बनाएको छ।

दुई दिनअघि रोयटर्सले समाचारसँगै आफ्नो ट्वीटरमा राखेको उक्त तस्बिरले खेलाडी र चीनलाई होच्याएको अर्थमा धेरैले बुझेका छन्। उक्त तस्बिरमा होउले भार उचालिरहेकी छन्। जसले गर्दा उनको अनुहारको भावभंगी फरक देखिएको छ। जुन स्वभाविक हो।

चिनियाँहरूले भने रोयटर्सले जानीजानी यस्तो तस्बिर प्रयोग गरेको बताएका छन्। श्रीलंकास्थित चिनियाँ राजदूतावासले त ट्विटरमार्फत् रोयटर्समाथि प्रश्न गरेको छ- खेलमा भएका सबै तस्बिरबाट रोयर्टसले यो तस्बिर छान्यो यसले उनीहरू कति कुरूप छन् भन्नेमात्र देखाउँछ। खेलभन्दा माथि राजनीति र विचारधारालाई नराख र आफूलाई निष्पक्ष मिडिया नभन। निर्लज्ज। ओलम्पिकको भावनाको सम्मान गर।

चीनको सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताले पनि उक्त तस्बिर प्रयोग गरेकोमा रोयटर्सप्रति आक्रोश पोखेका छन्। यसबारे ग्लोबल टाइम्सले पनि समाचार प्रकाशित गरेको छ।

चिनियाँहरू पश्चिमा मिडियाप्रति आक्रोशित भएको अर्को पनि घटना छ। टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सिएनएनले समाचार लेखेको थियो। जसको शीर्षक थियो- चीनलाई स्वर्ण पदक…. र थप कोरोना संक्रमण!

चिनियाँहरूले सिएनएनले राखेको उक्त शीर्षकको पनि चर्को विरोध गरेका थिए। सिएनएनले नियतवश दुई फरक घटनालाई शीर्षकमा राखेको थियो जुन आवश्यक नै थिएन भन्ने उनीहरूको तर्क थियो।

यसअघि अमेरिकाको एबिसी न्युज टेलिभिजनले टोकियो ओलम्पिकको उद्घाटनका क्रममा चीनको अधुरो नक्सा देखाएको भन्दै चिनियाँहरूले आलोचना गरेका थिए।

यी घटनाहरूले चिनियाँहरू पश्चिमा मिडियाहरूको कभरेज देखेर निराश भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्