अमेरिका र चीनलाई पछि पार्दै जापान फेरि ओलम्पिक पदकको शीर्ष स्थानमा – Janadesh Daily | ePaper

अमेरिका र चीनलाई पछि पार्दै जापान फेरि ओलम्पिक पदकको शीर्ष स्थानमा


जनादेश स्पोर्ट्स ।

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।

जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन्। अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ।

यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ। दक्षिण कोरिया तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित छैटौँ, अस्ट्रेलिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौँ, क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य जित्दै आठौँ, फ्रान्स दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसकेका छन्। तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन्। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाहले एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए।

टोकियो ओलम्पिकमा अब पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्