कक्षा १२ को परीक्षाअघि खोपको व्यवस्था गर्न सुझाव – Janadesh Daily | ePaper

कक्षा १२ को परीक्षाअघि खोपको व्यवस्था गर्न सुझाव


परीक्षाअघि खोपको व्यवस्था गर्न सुझाव

जनादेश अपडेट । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षाअघि विद्यार्थीको कोभिड–१९ परीक्षणको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिको बुधबारको बैठकले आसन्न परीक्षाअघि कोभिड परीक्षणको सुझाव दिएको हो । समितिले सकेसम्म परीक्षाअघि नै परीक्षार्थीलाई खोपको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको छ । कोरोना जोखिमका कारण यस पटक परीक्षार्थीका लागि होम सेन्टर तोकिएको छ । नियमित कार्यतालिकामा जेठभित्र कक्षा १२ को परीक्षा हुँदै आएको थियो । कोरोनाका कारण जारी निषेधाज्ञाले परीक्षा सञ्चालनमा ढिलाइ भएको हो ।
परीक्षाको तोकिएको समय आउन अझै समय रहेको भन्दै समितिले खोप र परीक्षणको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । सङ्क्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने अवस्था रहे पुनः परीक्षाको व्यवस्थाका लागि समितिले ध्यानाकर्षण गराएको छ ।
यस्तै समितिले परीक्षा केन्द्रको भीड कम गर्न धेरैभन्दा धेरै परीक्षा केन्द्रको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । परीक्षामा चार लाख हाराहारीमा विद्यार्थी सहभागी हुने जनाइएको छ । समितिले सङ्क्रमितलाई छुट्टै कोठामा परीक्षा दिने व्यवस्थाका लागि पनि निर्देशन दिएको छ । बैठकले पोखरा विश्वविद्यालयको स्नातक तहलाई मान्यता दिन ढिलाइ भइरहेको भन्दै यथाशीघ्र समस्या समाधानको व्यवस्थाका लागि निर्देशन दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्