टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा    – Janadesh Daily | ePaper

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा   


काठमाडौँ । 

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।

अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसक्नुभएको छ । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उहाँले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्