आफ्नो भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको इराकी प्रधानमन्त्रीको भनाइ – Janadesh Daily | ePaper

आफ्नो भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको इराकी प्रधानमन्त्रीको भनाइ


बगदाद

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले उहाँले हालै गरेको अमेरिका भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाउन सघाएको जानकारी दिनुभएको छ ।

उहाँले आफूले हालै गरेको सो भ्रमणबाट इराक र अमेरिकाबीचको सम्बन्धलाई थप स्थायी बनाएको बताउनुभएको हो ।

अमेरिकाको भ्रमणको एक दिनपछि उहाँको यो प्रतिक्रिया आएको छ । उहाँले अमेरिकाको भ्रमण सकेर स्वदेश फर्किएपछि यो कुरा बताउनु भएको उहाँका सञ्चार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उहाँले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेन र अरू अमेरिकी उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो । उहाँले राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

आफूले गरेको अमेरिका भ्रमणका क्रममा सुरक्षा, अर्थ, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा द्विपक्षीय सहयोग र समझदारी गर्ने विषयमा सहमति भएको र यी क्षेत्रमा इराकका लागि ठूलो सहायता मिलेको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री कादिमीले आफ्नो भ्रमणका क्रममा नै अमेरिकालाई इराकबाट सेना फिर्ता गर्न भन्नुभएको र अमेरिकाले यसै वर्षको अन्तिमसम्ममा अमेरिकाले आफ्ना सबै सेना फिर्ता गर्न सहमत भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

कादिमीसँग भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ ।

उहाँले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालीम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिनुभएको छ ।

इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतङ्ककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेका छन् ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ ।

इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताउनु भएको थियो । उहाँले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भन्नुभएको छ, हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालीमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्