त्रिविमा तालाबन्दी, अनलाइन पठनपाठन ठप्प – Janadesh Daily | ePaper

त्रिविमा तालाबन्दी, अनलाइन पठनपाठन ठप्प


जनादेश, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय एक सातादेखि आंशिक प्राध्यापकको तालाबन्दीले प्रभावित बनेको छ । उपकुलपति, रजिष्ट्रार, रेक्टरसहित सेवा आयोगको कार्यालयमा लगाइएको तालाका कारण लगभग विश्वविद्यालयका शैक्षिक, प्रशासनिक गतिविधि ठप्प छ ।

यी निकायमा लगाइएको तालाले करिब २ दर्जन कार्यालयका कामकाज रोकिएको हो । आंशिक प्राध्यापकहरु नै आन्दोलनमा सहभागी भएकाले ६० भन्दा बढि आंगिक क्याम्पसको अनलाइन पठनपाठन पनि असर पुगेको छ । त्रिविको पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाणपत्र वितरण गर्न नपाउँदा सेवा लिन आउने विद्यार्थीहरु रित्तो हात फर्कन बाध्य बनेका छन् । केन्द्रमा दैनिक ३० विद्यार्थी सेवा लिन आउँछन् ।
गत शुक्रबारदेखि आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै त्रिविका महत्वपूर्ण निकायहरुमा ताला लगाएका हुन् । एकसातासम्म वार्ता र छलफलको प्रयास पनि हुन नसकेको आंशिक प्राध्यापकहरुले बताए । उपकुलपति कार्यालय अन्तर्गतको कार्यकारी, प्राज्ञिक परिषद, अन्तरराष्ट्रिय सम्बन्धन केन्द्र, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालय मातहतको अनुगमन निर्देशनालय, अनुसन्धान केन्द्र, समन्वय महाशाखा ठप्प बनेको छ ।

रजिष्ट्रार कार्यालयको मूलगेटमै तालाबन्दी भएका कारण त्यस परिसरमा रहेका विज्ञान प्रविधि अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थान डिन कार्यालयका दैनिक कामकाज पनि अवरुद्ध बनेको छ । आर्थिक, सामान्य प्रशासन लगायत महाशाखाका काम पनि हुन सकेको छैन । पदाधिकारी लगायत कर्मचारी कार्यालय आउने हाजिर गरेर फर्कने र बस्ने गरेका छन् ।

त्रिवि सेवा आयोग कार्यालयमा समेत तालाबन्दी गरेका कारण प्राध्यापक, कर्मचारी छनोटको काममा समेत असर पुगेको छ । त्यस्तै त्रिवि अन्तर्गतको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सत्तारुढ दल निकट विद्यार्थी संगठनको तालाबन्दी छ । इन्जिनियरिङमा नेपाल विद्यार्थी संघ र चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीले गतिविधि ठप्प बनेको क्याम्पसहरुले जनाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्