सहभागितामै सीमित रह्यो नेपालको ओलम्पिक यात्रा – Janadesh Daily | ePaper

सहभागितामै सीमित रह्यो नेपालको ओलम्पिक यात्रा


जनादेश, काठमाण्डौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार गर्न सकेनन् । एथलेटिक्सकी सरस्वती चौधरीले औसतको प्रदर्शन गर्दा जुडोकी सोनिया भट्ट आफ्नो प्रतिद्वन्द्वीसामु टिकेर खेल्न नसक्दा यसपटकको ओलम्पिकमा नेपाल सहभागितामै सीमित बन्यो ।

पहिलो चरण पार गर्नु नै नेपालका लागि चुनौतीको कुरा हो, पदक त अलि पर नै छ । अझ त्योभन्दा अघि छनोट भएर ओलम्पिकमा खेल्न जानु नै चुनौती छ । नेपाल ओलम्पिकमा सहभागिता र व्यक्तिगत प्रदर्शनमा भएको सुधारमै रहिरहेको छ ।

तेक्वान्दोका स्टारद्वय संगिना वैद्य र दीपक विष्टबाहेक हालसम्म झन्डै १ सयको हाराहारीमा ओलम्पियन पुग्दा सबै खेलाडी युनिभर्सियालिटी कोटा र वाइल्ड कार्डको सहारामै ओलम्पिक खेल्दै आएका हुन् । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

यसपटक युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले ओलम्पिक खेल्ने अवसर पाउँदा वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । नेपाल ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागी हुन जानुअघि गरेको पत्रकार सम्मेलनमा यसपटकको ओलम्पिक जात्रा नभई यात्रा हुने बताएको थियो । यही यात्रा भएको ओलम्पिकमा के–के भयो त ?

जम्बो टोली
ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै यसपटकदेखि अ‍ोलम्पिक जात्रा नभई यात्रा हुने बताएका थिए । यसको सोझो अर्थ आवश्यकताभन्दा कम ओलम्पिकमा जाने भन्ने नै हो । कोभिडका कारण पनि कोटा कटौती भएको थियो । ओलम्पिकका ५ खेलाडीसहित २६ पदाधिकारी ओलम्पिकमा जाने सूची सार्वजनिक गरेको थियो । खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले सुरुमै आलोचना भएको थियो ।

खेलाडी र प्रशिक्षकभन्दा झन्डै दोब्बर पदाधिकारी ओलम्पिक जाने टोलीमा रह्यो । अन्तिम समयमा तीन जना पदाधिकारीले विभिन्न कारण देखाउँदै ओलम्पिकमा गएनन् । तेज गुरुङ, शिव कोइराला र पीताम्बर तिम्सिना ओलम्पिक नजाने सूचीमा रहे । पौडी खेलाडी गौरिका सिंह बेलायतबाट सिधै जापान पुगिन् । यस्तै नेपाली टोलीमा रहेकामध्ये एक जना टोकियोस्थित नेपाली दूतावासबाट र एक जना टोकियोस्थित स्थानीय स्वयंसेवक थिए ।

सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल रहे । भिन्न खेलका अध्यक्ष भिन्न खेलको व्यवस्थापक बनेर जाँदा चर्काे आलोचना भयो । त्यसमा सबैभन्दा चर्चा सांसद समेत रहेकी नेपाल कबड्डी संघका अध्यक्ष, ओलम्पिक कमिटीका सचिव नेकपा एमाले नेता बामदेव पत्नी तुलसा थापा रहे । उनी टोकियोमा जुडो खेलको व्यवस्थापक बनेर जापान पुगेकी थिइन् ।

उद्घाटनको मार्चपासमा दुई खेलाडीबाहेक ६ पदाधिकारी थिए । त्यसमा खेलाडीपछि तुलसा र सदस्य सचिव थिए । सम्बन्धित खेलको फिजियो र म्यानेजर जान्नुपर्ने भए पनि विदेश भ्रमणको कोटा मिलाउनकै लागि यसपटक फरक खेलाडीसँगै ओलम्पिक कमिटीको विभिन्न पदमा रहेका विभिन्न खेलको व्यवस्थापक बनेर टोकियो पुगेको थियो । अन्त्यमा टोली व्यवस्थापकविहीन बन्न पुग्यो ।

मार्चपासमा लैंगिक समानता
नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकको मार्चपासमा पौडीकी गौरिका सिंहले नेपालको झन्डा बोक्ने बताएकी थिइन् । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले गत मार्चमै लैंगिक समानताका लागि महिला र पुरुष दुवैले आफ्नो देशको झन्डा बोक्ने निर्णय गरिसकेको थियो । मार्चपासमा नेपालको झन्डा गौरिका र एलेक्स शाहले बोके । मार्च पासमा टोकियो पुगेका अन्य दुई खेलाडी सोनिया भट्ट र कल्पना परियार उपस्थित भएनन् । पदाधिकारीको बाक्लै उपस्थिति रहेको थियो ।

एकै संस्करणमा चार महिला खेलाडी
सन् १९८८ को सोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए । सन् १९९२ यता ओलम्पिक जाने नेपाली खेलाडीमा पुरुषभन्दा महिला नै बढी रहँदै आएको छ । तर, यसपटक पाँचमध्ये चार महिला र एक पुरुष थिए । एकै संस्करणमा नेपालबाट ओलम्पिक खेल्नेमध्ये महिला सहभागिता अहिलेसम्मकै धेरै हो ।

कल्पनाको कमाल
वाइल्ड कार्डमार्फत ओलम्पिकमा खेल्ने अवसर पाएकी सुटिङकी कल्पना परियारले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दै ६१६.८ स्कोरको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि १३औं सागमा उनले ६१४.५ स्कोर गरेकी थिइन् । यस स्पर्धामा ५० सुटरले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् । उनले ओलम्पिक जानुअघि नै आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने बताएकी थिइन् ।

सोनिया १ मिनेट १६ सेकेन्डमै आउट
वाइल्ड कार्डबाट छनोट भएकी जुडोकी सोनिया भट्टले ४८ केजी तौल समूहमा रसियन इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्ड मात्र टिकिन् । उनी इप्पोन (नकआउट) भइन् । एक आउट जित्ने लक्ष्य राखे पनि उनी सफल हुन सकिनन् ।

एलेक्सको सुधार
पौडीवाज खेलाडी एलेक्जान्डर (एलेक्स) शाहले लङ कोर्स (५० मिटर)मा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ५३.४१ सेकेन्डको समय निकाले । एलेक्सले सन् २०१९ मा दक्षिण कोरियाको ग्वांजुमा भएको १८औं फिना विश्व पौडी च्याम्पियनसिपमा ५६.२८ सेकेन्डको कीर्तिमान बनाएका थिए । एलेक्स यस इभेन्टमा प्रतिस्पर्धा गरेका ७१ खेलाडीमध्ये ५९औं भएका थिए ।

यो स्पर्धामा सर्ट कोर्स (२५ मिटर)मा पनि एलेक्सकै नाममा कीर्तिमान छ । उनले सन् २०१९ नेपालमै भएको १३औं सागमा ५४.३२ सेकेन्डको समय निकालेका थिए । उनी आफ्नो हिटमा पहिलो हुने दोस्रो खेलाडी बने । यसअघि सन् २०१६ को रियो ओलम्पिकमा गौरिका आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

गौरिकाको औसत प्रदर्शन
कीर्तिमानको खानी जलपरी गौरिका सिंहबाट यसपटक ओलम्पिकमा नेपालले ठुलै अपेक्षा गरेको थियो । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे पनि उनको प्रदर्शन औसत बन्यो । महिला १०० मिटर फ्रिस्टाइल उनले १ मिनेट ०.११ सेकेन्डमा पूरा गरिन् । यसअघि लङ कोर्षमा पनि उनकै नाममा १ मिनेट ०.६२ सेकेन्डको कीर्तिमान रहेको थियो ।

सन् २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा गौरिकाले त्यो कीर्तिमान राखेकी थिइन् । १३औं सागमा उनले १ सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी थिइन् । सर्ट कोर्स (२५ मिटर)मा उनले ५८.१३ सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । ४ खेलाडी सम्मिलित हिटमा गौरिका तेस्रो हुँदा अघिल्लो चरण पार गर्न सकिनन् । सन् २०१६ को रियो ओलम्पिकमा कान्छी खेलाडी बन्दै चर्चा कमाएकी गौरिका त्यसबेला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

‘लक्की’ सरस्वती औसत
सुरुमा एथलेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भए पनि अन्तिममा उनको नाम हट्यो र महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिकमा खेल्ने अवसर पाइन् । ओलम्पिक खेल्ने भाग्यमानी एथलिट बनेकी उनी नेपाली स्प्रिन्टरमध्ये उत्कृष्ट समय भएको आधारमा उनले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् ।

तर, टोकियोमा उनको प्रदर्शन औसत रह्यो । सरस्वतीले महिला १०० मिटर सरस्वतीले १२.९१ सेकेन्डमा पूरा गरिन् । उनी ९ मध्ये आठौं स्थानमा रहिन् । यसअघि उनले १३औं सागमा निकालेको १२.५५ सेकेन्डको समय व्यक्तिगत उत्कृष्ट थियो । यस इभेन्टमा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान छ । उनले सन् १९९९ को सागमा १२.१९ सेकेन्डमा दूरी पार गरेकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्