जनैपूर्णिमा पर्वको उपादेयता – Janadesh Daily | ePaper

जनैपूर्णिमा पर्वको उपादेयता


जनादेश,काठमाडौं ।

जनै लगाउँने बेलामा यो मन्त्र भनिने गरिन्छ “येनबद्धो बलीराजा दानवेन्द्रो महाबल । तेनत्वं प्रतिबध्नामी रक्षेमा चलमा चल ।।“ यसको अर्थ के हो भने जुन रक्षा (काँचो धागो)ले सत्ययुगमा दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भन्ने हो । मूलतः रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरुको तर्पन गरिने दिन भएको हुँदा ऋषितर्पणी भनिन्छ । फलतः जनै फेर्ने दिन भएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । यसैदिन जनै लाउनेहरुले जनै फेर्ने दिन भएकोले यस पूर्णिमाको नाम जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । परन्तु शास्त्रको बिधि बमोजिम ब्राम्हणहरुद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ ।

यसरी रक्षाबन्धनलाई परम्परागत रुपमा ब्राह्णहरु डोरो बाँध्ने र दिदीबहिनीहरुले दाजुभाइहरुलाई राखी बाँध्ने पर्वका रुपमा मात्रै सीमित नराखी यसले दिन खोजेको व्यापक अर्थलाई जानेर स्वयम्लाई परमात्माले प्रतिपादन गरेका उच्च मूल्य मान्यता, संयम, यम, नियमलाई जीवनमा सहर्ष स्वीकार गरी परिपालन गर्नाले मानिसको वास्तविक रक्षा हुनेछ । त्यसैले होला हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा साँस्कृतिक निधिहरुलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । यसरी नै संक्षेपमा भन्नु पर्दा त्यो नै त्यस देशको साँस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिविम्व हो । यसरी पूर्वजहरुले सामाजिक धरोहरको रुपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो की भन्ने लाग्छ, परन्तु त्यसो होइन । अतागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ ।

अतः गैर–तागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनु पर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । “सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।।” यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ ।

जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिक मानिन्छ, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन तन, मन, बचन र भाब शुद्ध गरी देवता, मनुष्य, सप्तऋषिहरु अरुणघर्तिसहित कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

यसको साथै यी सप्तर्षिहरुको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । त्यसरी नै जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रुपमा र शुद्ध जनै बदल्ने दिनको रुपमा समेत लिइन्छ । श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमा मित्रहरु एक–दोश्रोलाई बाँध्छन् । यसरी नै यस पर्वको अर्को पाटोको रुपमा दिदी बहिनीहरुले आफ्ना प्रेमको रुपमा आफ्ना दाजु–भाइहरुलाई राखी बाँध्छिन र ब्राम्हणहरु अन्य वर्गका मानिसहरुलाई बाँध्दछन् ।

त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरुको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरुप प्रण थियो । यसर्थ पौराणीक पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ । यसको साथै नयाँ जनैलाई विधिवत् पूजा गर्दा प्रथमतः सङ्कल्प वाचन र त्यसपछि तर्पणको विधि हुन्छ । यसै दिनमा पहिले बैकुण्ठवासी गुरु, पितृ, ऋषिहरुलाई सश्रद्धा संस्मरणको उद्देश्यको लागि तर्पण कार्य गरिन्छ । यसरी हामीले धारण गर्ने जनै अर्थात एक एक्लेमा तीन डोरा हुन्छ ।

यसको साथै मनुष्यहरुमा देवऋण, पितृऋण, ऋषिऋणबाट मुक्त हुनुपर्ने शास्त्रीय मान्यताको निमित्त उक्त तीन डोरा साङ्केतिक रुपमा देखाइएको वताइन्छ । सो डोरोमा ॐ कार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेवको बास हुने मान्यता छ । साथै तीन डोरालाई ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिन्छ । यसै पूर्णिमामा नेवार समुदायमा भ्यागुताको पूजागर्ने प्रचलन रहिआएको छ । यस दिन भ्यागुताको लागि खेतमा कुनै एक ठाउँमा भात राखिदिएर ब्याँजा नकेगुपुन्ही को रुपमा मनाउने चलन छ । भ्यागुताले राति टर–टर आवाज निकाल्दा इन्द्र महाराजाको निन्द्रा बिउँझिदा इन्द्रले पानी पारेको विश्वासमा भ्यागुताको पूजागर्ने प्रचलन रहेको जनविश्वास छ ।

अन्त्यमा भन्नुपर्दा हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरु पर्ने गरेको पाइन्छ । त्यस्तै गरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौ वा सक्दैनौं ? यौटा महत्वपूर्ण प्रश्न हामीसामु छ । यसै सिलसिलामा विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससहरुलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरु छ्यापछ्याप्ती छन् । अतः साँच्चै बोझ, बन्धन कर्सैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुशीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो । जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ ।

यसको अलवा नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अधि दानवहरुबाट पीडित देवगणहरुले अभिमानी असुरहरुको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचको रुपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरु पराजित भै देवताहरु सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरुप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो ।

यो पर्र्व सर्वश्रेष्ठ धर्मको रुपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केहि त्रुटिहरु छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रुढिवाढीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो । यद्यपी, समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाइ सनातन धर्मबाट चलि आएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुनजाने छ । यस अर्थमा हिन्दूधर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाड पर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुईमत नहोला ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्