माओवादीमा ‘महरा सर’को शक्तिशाली ‘कमब्याक’: दोश्रो ‘इनिङ’मा प्रवक्ताको जिम्मेवारी – Janadesh Daily | ePaper

माओवादीमा ‘महरा सर’को शक्तिशाली ‘कमब्याक’: दोश्रो ‘इनिङ’मा प्रवक्ताको जिम्मेवारी


जनादेश वाच ।

तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको तिकडमका कारण अनेक झन्झट व्यहोरेर मुद्दा मामिलासमेत झेलेका कृष्णवहादुर महरा माओवादी केन्द्रको शक्तिशाली भूमिकामा फर्किएका छन् ।

पूर्वसभामुखसमेत रहेका महरालाई माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्कुल विभाग इञ्चार्ज भएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवास समिति इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ ।

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा छन् ।

त्यस्तै स्वास्थ्य विभागमा कल्पना धमला, सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन् भने नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् भने वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख रहेका छन् ।

केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

शक्तिशाली ‘कमब्याक’
राजनीतिक ‘करिअर’को पुष्पित–पल्वित मोडमा पुगेको बेला महरालाई यौन दुराचारको संगीन आरोपमा कानुनी जन्जालमा पारिएको थियो । तत्कालीन माओवादीबाट मूलधारमा आइपुगेका कतिपय प्रभावशाली नेताहरुका पनि राजनीतिक गुरु महराको ‘दोस्रो इनिङ’को पर्खाइमा थिए । माओवादीमा महराले पढाएका वा राजनीतिकबाट प्रशिक्षित भएका धेरै नेता छन्। ती नेताहरुमा महराप्रति सम्मान छ ।

सधैं प्रचण्डका सारथी
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति, आर्थिक र कूटनीतिक साँचो सम्हालेका महरालाई सभामुख पदमा हुँदा आरोप लगाइएपछि प्रचण्ड अत्यन्तै ठूलो संकटमा परेका थिए।

तर महरा जिल्ला अदालत काठमाडौंबाट ५ फागुन ०७६ मा सफाइ पाएपछि पनि हतारिएर संसद भवन छिरेनन्। पार्टीमा आफूलाई यो वा त्यो कुनै जिम्मेवारी चाहियो भनेर मागेनन्। उनी आफ्नो आरोप खण्डन गर्न फागुन १२ गते आफ्नो निर्वाचन क्षेत्र दाङ र लगतै आफ्नो जन्मघर रोल्पा पुगे। रोल्पा नगरपालिका मेवाङमा रहेको आफ्नो घरलाई सफासुग्घर गर्न लगाएर केही दिन त्यहीँ आराम गरे।

आफ्नो निर्वाचन क्षेत्र दाङ जाने क्रममा महरालाई भालुवाङ, सिसहनिया र लमहीलगायत क्षेत्रमा स्वागत गरियो। उनको निर्वाचन क्षेत्र दाङ घोराहीमा नागरिक अभिन्दन गर्दै महराले एमसिसी संसदबाट रोके बापत् आफूलाई षड्यन्त्रपूर्वक फसाइएको बताए। त्यति मात्रै होइन, दाङको घोराही नारायणपुर, देउखुरीका लहमी, गढवा लगायत विभिन्न क्षेत्रका कार्यक्रममा सहभागी भई आफूलाई फसाइएकोमा अदालतले न्याय गरेपछि उन्मुक्ति पाएको अभिव्यक्ति दिए।

त्यतिबेला उनले दाङ जिल्लामा रहेका पुराना कम्युनिस्ट नेतालाई घरमै गई भेटघाटसमेत गरे। फागुन २० गते प्यूठान हुँदै आफ्नो जन्मथलो रोल्पा पुगेका महरालाई लिवाङमा झाँकी सहित स्वागत गरियो। महराले माडी, परिवर्तन, सुन्छहरी, थवाङ, खुँग्री, सुलिचौर लगायत रोल्पाका धेरै क्षेत्रमा आयोजित स्वागत कार्यक्रममा आफूलाई षडयन्त्रपूर्वक फसाएको भन्दै बचाउ गरे। महराले आफ्ना निर्वाचन क्षेत्र र जन्मथलो भ्रमणलाई पुरानै साख फर्काउन सदुपयोग गरे।

गौरवपूर्ण राजनीतिक इतिहास
१७ असार ०१६ साल रोल्पाको लिवाङको मेवाङमा जन्मिएका महराले रोल्पाकै बालकल्याण माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्र्तिण गरे। महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएसी गरेका महराले पृथ्वीनारायण बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्र संकायमा स्नातक गरे। आफूले अध्ययन गरेकै विद्यालयमा अध्यापन गराउँदै शिक्षक राजनीतिमा जोडिए। ०३५ सालदेखि नै विद्यार्थी राजनीतिक आन्दोलनमा जोडिएका महराले ०३६ देखि ०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाका सचिवको जिम्मेवारी सम्हालेका थिए। ०३७ सालमा मात्रै चौमबाट पार्टी सदस्यता लिएका महरा ०३९ देखि ०४१ सालम्म अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएका थिए ।
उनी ०४८ साल मशालको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए। ०५० सालमा तत्कालीन एकता केन्द्रको क्षेत्रीय संगठन समितिको सदस्य भएका महरा ०५१ सालमा माओवादी पश्चिमाञ्चल क्षेत्रीय ब्यूरो सदस्य बने। जनयुद्धमा सपरिवार सहभागी गराएका महरा ०५३ साल असारमा मात्रै माओवादीको केन्द्रीय सदस्य भए। ०५५ सालमा पोलिटब्यूरो सदस्य भएका महरा ०६२ सालमा मात्रै स्थायी कमिटी सदस्य बनेका थिए। ०६९ सालमा मोहन वैद्य किरणले पार्टी विभाजन गरेपछि ०७१ मा पार्टी महासचिव भए। तत्कालीन एमाले माओवादी एकता हुनुअघि माओवादी हेडक्वाटर सदस्य थिए। उनले तत्कालीन माओवादी सरकारबीच भएका पटक पटक वार्ता टोलीको संयोजक भएर जिम्मेवारी निर्वाह गरेका थिए।

सबैका ‘महरा सर’
तत्कालीन नेकपा माओवादी पार्टीमा सबैले सम्मान गर्ने नाम हो, कृष्णबहादुर महरा अर्थात् ‘महरा सर’। पार्टीमा अरु धेरै नेता कार्यकर्तालाई कमरेड भनेर सम्बोधन गर्दा पनि उनलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्थे। जनयुद्धमा महराले नै अध्यापन गराएका विद्यार्थीहरुकै हालीमुहाली थियो। तर पार्टीभित्र ‘महरा सर’ भनेर सम्बोधनले सम्मानित भइरहे।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएसी गरेका महराले आफूले एसएलसी उत्र्तिण गरेको रोल्पाको लिवाङ स्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा गणित र विज्ञान पढाउँथे। त्यससँगै उनी विद्यार्थीलाई माक्र्सवादी राजनीतिका सूत्र समेत पढाउँथे। यसरी उनको शिक्षण पेशासँगै राजनीतिक प्रशिक्षणको छत्रछायामा हुर्कन थाले, अहिलेका उर्जा मन्त्री वर्षमान पुन, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पूर्व सभामुख ओनसरी घर्ती। महराले बालकल्याण विद्यालयमा १२ वर्षसम्म अध्यापन गराएका धेरैजसो नेताहरु अहिले राष्ट्रिय राजनीति र जिल्लास्तरको राजनीतिमा सक्रिय छन्।

मा‌ओवादीमा प्रवक्ताको जिम्मेवारीसहित महराको कमब्याकले पुनः पार्टी शक्तिशाली बन्ने आशा उनका राजनीतिक विद्यार्थीहरुले राखेका छन् । एमाले विभाजन भएको समयमा अब माओवादीका लागि फेरि राजनीतिक स्पेस बनेको र त्यो प्रयोग गर्न महराको भूमिका महत्वपूर्ण हुने आँकलन धेरैको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्