भारतीय टिमका कप्तान सुनिल क्षेत्री जसले विमानस्थलमा नेपाली बोलेरै जिते नेपालीको मन – Janadesh Daily | ePaper

भारतीय टिमका कप्तान सुनिल क्षेत्री जसले विमानस्थलमा नेपाली बोलेरै जिते नेपालीको मन


जनादेश वाच ।
नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली हिजो सोमवार नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामै बोले नेपालीहरुको मन जित्न सफल रहे । उनले नेपाली भाषामै नेपाली सञ्चार माध्यमलाई प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिने क्रममा उनले हजुरबुबा–हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे ।

 उनले भने, ‘नेपालमा आएर खेल्न पाउँदा खुसी छौँ । मैत्रीपूर्ण खेल खेल्न नेपालसँग त्यही सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्त्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थामा पनि नेपालले राम्रो हस्पिटालिटी दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौँ । मैत्रीपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ।’

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले, ‘यसअघि पनि नेपालसँग खेलेका छौँ । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले सधैँ राम्रो खेल्ने गर्छ । अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।’ भन्ने जवाफ दिए ।

सुनिल क्षेत्रका फ्यान नेपालमा पनि धेरै हुनुहुन्छ । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ? भनेर सोधिएको प्रश्नमा सुनिलले मन जित्ने जवाफ दिए । उनले भने, ‘नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबुबा, हजुरआमा यहीँबाट हुनुहुन्थ्यो । आमा पनि यहीँबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबै जना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।’

भारतले नेपालसँग त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ । रङ्गशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीका रूपमा हेरेको छ । नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्व कप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । त्याे खेल गोलरहित बराबरीमा सकिएको थियो । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्