शंकर पोखरेललाई फसाद्, बिमलाले हालिन् अपहरण र बन्धकको उजुरी, प्रमाणित भए १० वर्ष कैद – Janadesh Daily | ePaper

शंकर पोखरेललाई फसाद्, बिमलाले हालिन् अपहरण र बन्धकको उजुरी, प्रमाणित भए १० वर्ष कैद


जनादेश वाच ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए।

‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ,’ उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्।

‘हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’

दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ।

पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ ।

वलीले साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपचारको लागि जाने तयारी गरेको बेला साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत लगायतले नेपालगञ्ज पु¥याइदिने भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पु¥याइ ५ दिनसम्म बन्धक बनाएको बताएकी थिइन् । उनले आफूलाई विज्ञप्ती तथा अन्य केही माइन्यूटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप लगाएकी थिइन् ।

वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद् हुन् । माओवादी र एमाले नेकपाबीचको एकता भग भएपछि उनी कहिले माओवादी, कहिले एमालेमा बसाइ सर्दै आएकी छन् ।

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई सत्ताच्यूत गर्न भूमिका निर्वाह गरेकी उनी हाल माओवादीमा छिन् ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्