खुल्ला मञ्चबाट गर्जिएपछि विप्लव बन्दीपुरमा, भावी रणनीतिबारे के छ संकेत ! – Janadesh Daily | ePaper

खुल्ला मञ्चबाट गर्जिएपछि विप्लव बन्दीपुरमा, भावी रणनीतिबारे के छ संकेत !


जनादेश वाच ।

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह आगामी रणनीति र कार्यदिशाबारे अझै अस्पष्ट छ । ८ मंसिर २०७१ सालमा तत्कालीन नेकपा-माओवादीबाट विप्लव नेतृत्वमा नयाँ पार्टी गठन भएयता विभिन्न चरणमा गुज्रिएको विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवा भएर शान्तिपूर्ण राजनीतिमा आएको धेरै समय वितिसक्दा पनि पार्टीले भविष्यमा के गर्छ भन्ने स्पष्ट भनिसकेको छैन ।

सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेपाल कम्युनिष्ट पार्टी ६ महीनादेखि अन्योलमा छ । तीनबुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसद विघटनमा लागे र सरकारबाट बाहिरिए । सरकार परिवर्तन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गर्‍यो, सहमति कार्यान्वयनमा जोड दियो । तर त्यसअनुसार प्रगति नभएपछि तीनबुँदे सम्झौता गर्दै खुला राजनीतिमा फर्किंदाको समीक्षा, अहिलेको राजनीतिक अवस्थाबारे विमर्श र भावी रणनीति बनाउने भएको छ ।

यसका लागि नेकपाको ११औं केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा शुक्रबारदेखि शुरु हुँदैछ । खुला राजनीतिमा फर्केपछि बन्दीपुरमा पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

‘बन्दीपुरमा शुरु हुने बैठक झण्डै एक हप्ता चल्छ, बैठकमा राजनीतिक र सांगठनिक प्रस्ताव पेश हुन्छ’, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले भने, ‘विशेषगरी यो बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुन्छ । अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गर्छौं । देशको मूलभूत विषयमा पार्टीको आधिकारिक धारणा तय गर्छौं ।’

सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवले हतियारको कुरै नगर्ने, शान्तिपूर्ण राजनीतिमा आउने लगायत तीनबुँदे सहमति गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ लगाएको प्रतिबन्ध फुकुवा गर्दै तीनबुँदे सहमतिपछि २१ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काएको थियो ।

 

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएकाले अब कसरी अगाडि बढ्ने भनेर राजनीतिक कार्यक्रम तयार गरिने केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज पूर्णजीत पुन ‘उभार’ले बताए । ‘समग्रमा अब पार्टी कस्तो बनाउने र जनताका बीच केके लिएर जाने भन्नेबारे बैठकले रणनीति बनाउने छ’ उभारले भने, ‘त्यसका लागि ६५ जना केन्द्रीय सदस्य छलफलमा हुनुहुनेछ ।’

विप्लव समूहले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमत संग्रहको माग गर्दै आएको छ । ‘संविधान, नेपालको राजनीतिक सिस्टम के हुने, संघीयताको अभ्यास र सत्ताको चरित्र के हुने, व्यवस्था कस्तो हुने भन्नेबारे जनमत संग्रहमा जाने र त्यो किन आवश्यक छ भन्नेबारे पनि बैठकबाट तय हुन्छ’ उनले भने, ‘अरु कम्युनिष्ट पार्टी नाममात्रको हुँदा नेकपाले असली कम्युनिष्टको परिचय दिन जनतामाझ कसरी जाने भन्ने छलफलबाट निष्कर्ष निकाल्छौं ।’

खराव संसदीय व्यवस्था नमान्ने भन्दै माओवादीबाट अलग भएर विप्लवले जनताको अधिकार स्थापित गर्न फेरि एक पटक विद्रोह गर्ने बताएका थिए । माओवादीबाट अलग हुँदै फेरि भएको भूमिगत आन्दोलन, सरकारसँगको सम्झौतापछि प्राप्त उपलब्धिबारे छलफल गर्दै रणनीति तयार हुने नेकपाले जनाएको छ । पार्टीको सांगठनिक संरचनाबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा सहभागी हुन विप्लव बन्दीपुर पुगिसकेका छन् । बन्दीपुरमा मिहिन छलफल गरेर राजनीतिक धारणा र अबको रणनीति सार्वजनिक गर्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

३ दिन अघिको सन्देश

विप्लवले ३ दिन अघिमात्र एमसिसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका थिए छन्। नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसिसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत उनले गरेका थिए । अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरेका छन् ।

महासचिव विप्लवले एमसिसी सम्झौताविरुद्ध आफूहरूले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए। उनले आफूहरूले वास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दाबी गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्