विश्व क्रिकेट लिग-टूः ओमानमाथि नेपालको सात विकेटको शानदार जीत, ह्वाटमोरको सुखद् विदाई – Janadesh Daily | ePaper

विश्व क्रिकेट लिग-टूः ओमानमाथि नेपालको सात विकेटको शानदार जीत, ह्वाटमोरको सुखद् विदाई


जनादेश स्पोर्ट्स ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको छ ।

आइतबार अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समात ६–६ रन बनाएर आउट भए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे थियाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् ।

जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चाैथाे स्थानमा उक्लिएकाे छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।

सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।

ह्वाटमोरको सुखद् विदाई
आइतबारको खेल प्रशिक्षक वाटमोरका लागि महत्वपूर्ण रहेको थियो । त्यस्तै, खेलाडीहरूले पनि खेललाई महत्वपूर्ण खेलका रूपमा लिएका थिए । सन् २०२० डिसेम्बरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका वाटमोरले आजको अन्तिम खेलमा नेपाली टोलीको प्रशिक्षकत्व सम्हालेका थिए ।

वाटमोरले नेपालका लागि २०२१ जनवरीबा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । वाटमोरको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो । जसमा नेपालका लागि युवा खेलाडी कुशल भुर्तेलले डेब्यू सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए ।

वाटमोरकै प्रशिक्षकत्वमा नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्यो । दुवै खेलमा नेपाली टोलीले सहज जित हासिल गर्‍यो । त्यसपछि नेपालले आईसीसी डिभिजन–२ मा ओमानलाई हराउन सफल भयो ।

नेपाल क्रिकेट संघ (क्यान)सँग एक वर्षका लागि सम्झौता गरेपनि समयसीमा सकिनुअघि नै वाटमोरले पदबाट हट्ने निर्णय गरेका थिए । उनले कोभिड–१९ महामारीले परिवारसँगै बस्न नपाएको कारण देखाएर राजीनामा दिनुपरेको बताएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्