आइपिएलमा विराट कोहोलीको टिमको लज्जास्पद हार, कोलकता पाँचौ स्थानमा उक्लियो – Janadesh Daily | ePaper

आइपिएलमा विराट कोहोलीको टिमको लज्जास्पद हार, कोलकता पाँचौ स्थानमा उक्लियो


जनादेश स्पोर्ट्स ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ ।

वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयरले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकताले सहज जित हात पारेको हो ।

चक्रवर्ती र रसेलले ३-३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोर १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो ।

९३ रनको लक्ष्य कोलकताले १० ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । कोलकताका लागि गिलले ३४ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४८ रन बनाए । अर्धशतकको नजिक रहेका बेला गिल १०औं ओभरको पहिलो बलमा आउट भएका थिए । उनलाई युजभेन्द्र चहालले मोहम्मद सिराजबाट क्याचआउट गराए । पहिलो विकेटका लागि गिल र अयरले ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि अयरले १०औं ओभरमा तीन चौका प्रहार गर्दै कोलकताको जित पक्का गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा पुगेका आन्द्रे रसेलले सिंगल बल पनि फेस गरेनन् ।

डेब्युमै उत्कृष्ट ब्याटिङ गरेका अयरले अविजित ४१ रन जोडे । उनले २७ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरे ।

त्यसअघि बेंगलोरले दोस्रो ओभरमै कप्तान विराट कोहलीलाई गुमाउँद सुरुमै दबाबमा परेको थियो । पाँच रन बनाएका कोहलीलाई कोलकताका प्रसिद कृष्णाले बोल्ड गरे । त्यसपछि ४१ रन हुँदा बेंगलोरले दोस्रो विकेट गुमायो । ओपनर देभदत्त पडिक्कल २२ रन बनाएर आउट भए । बेंगलोरको इनिङ्स पडिक्कलकै २२ रन सर्वाधिक व्यक्तिगत स्कोर बन्यो । बैगलोरले त्यसपछि निरन्तर विकेट गुमाउँदा राम्रो साझेदारी गर्न सकेन ।

शिखर भारतले १६, हर्सल पटेलले १२ र ग्लेन म्याक्सवेलले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकताका चक्रवर्तीले चार ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । यस्तै रसेलले तीन ओभरमा ९ रन खर्चेर तीन विकेट लिए । लकी फर्गुसनले दुई तथा कृष्णाले एक विकेट लिए ।

८ खेलमा तेस्रो जितपछि ६ अंक जोडेको कोलकता राजस्थान रोएल्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट १० अंक रहेको बेंगलोर तेस्रो स्थानमै यथावत छ ।

विराटको दुई सयौँ खेल
बेंगलोरका कप्तान विराट कोहली आईपीएलको एकै फ्रेन्चाइजका लागि २००औं खेल खेल्ने पहिलो खेलाडी बन्दा टिम भने पराजित भयो । कोहली आईपीएलमा २०० खेल खेल्ने भने समग्रमा पाँचौ खेलाडी बने ।

यसअघि चेन्नाइका कप्तान महेन्द्र सिंह धोनी, मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा, कोलकताका दिनेश कार्तिक र चेन्नाइका सुरेश रैनाले २०० खेल खेलिसकेका छन् । धोनीले २१२, रोहितले २०७, दिनेशले २०३ र रैनाले २०२१ खेल खेलेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्