अबको चुनाव र सत्ता राजनीतिको रणनीतिः प्रचण्डको रोडम्याप सफल होला कि ओलीको ! – Janadesh Daily | ePaper

अबको चुनाव र सत्ता राजनीतिको रणनीतिः प्रचण्डको रोडम्याप सफल होला कि ओलीको !


जनादेश विश्लेषण ।

नेकपाको विघटनपछि अबको राजनीतिमा नेपालमा कुन कम्युनिष्ट नेताले मुलधारको नेतृत्व गर्ला, अबको चुनावमा कस्को रणनीति सफल होला र को सत्ता राजनीतिमा कमब्याक गर्ला भन्ने धेरैलाई चासो छ । मुख्यगरी नेपाली कम्युनिष्ट राजनीतिका दुई घगडान खेलाडी मानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीमध्ये कसले माहौल आफ्नो पक्षमा बनाउला भन्ने विषयमा विश्लेषकहरुले अनेकन अड्कलवाजी काटिरहेका छन् ।

प्रचण्डको योजनाः चुनावमा गठबन्धन, कम्युनिष्ट एकता
प्रचण्डले केही समय यता पटक पटक पार्टी विघटनको चर्चा गरेका छन् भने कम्युनिष्ट एकताको कुरा पनि गर्ने गरेका छन् । प्रचण्डले अहिलेकैरुपमा माओवादी पार्टी धेरै समय नरहने संकेत गरेका छन् । अर्थात् अब माओवादी नभएर प्रचण्डको नेतृत्वमा कम्युनिष्ट केन्द्र बन्ने उनको अभिलासा र महत्वाकाँक्षा देखिन्छ ।

सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताए । नेकपा माओवादी केन्द्रका नेतामा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको उनको भनाइ थियो । उनले समाजको विकास र न्यायका निम्ति पनि पार्टी र आफूहरुमा रुपान्तरण देखिनुपर्ने बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको आरोप लगाएको बताए । नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको उनको आरोप थियो ।
थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनको दाबी थियो । माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने उनको भनाइ थियो ।

‘समाजवादी क्रान्ति अघि बढाउनका लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन,’ उनले भने, ‘जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भनेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहेनत गर्‍यौँ भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

प्रचण्डले आफ्नो दस्तावेजमा माओवादी केन्द्र आउने चुनावबाट पहिलो दल बनाउने दावी गरेका छन् । पार्टी केन्द्रीय कमिटीमा प्रस्तुत प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा माओवादी फेरि पहिलो शक्ति भएर फर्किने प्रक्षेपण गरिएको छ । तर उनको दाबी माओवादी एक्लै एक नम्बर बन्ने भन्दा पनि माधव नेपाल, बाबुराम भट्टराई तथा अन्य घटकसँगको एकता र प्रचण्डकै नेतृत्वमा समाजवादी केन्द्र बन्ने मनसाय रहेको जानकारहरुको बुझाई छ ।

ओलीको आफ्नै रोडम्याप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा बिराम लागेको दावी गरेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी सरकारबाट बाहिरिन परेपछि नयाँ युगतर्फको यात्रा पनि गन्तव्यहीन हुन पुगेको जिकिर गरेका छन् ।
उनले सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने प्रयासलाई विफल बनाउने प्रयासहरु भइरहेको भन्दै देशलाई अन्योलतातिर धकेल्ने प्रयासहरु पनि भइरहेको उल्लेख गरेका छन् । यी प्रवृत्ति रोक्न पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्नु अनिवार्य रहेको भन्दै उनले आगामी कार्यभारका रुपमा दुई मुख्य रोडम्याप बुँदागत रुपमा अघि सारेका छन् ।

अबको चुनावसम्म नेपाली राजनीति कस्तो हुन्छ र नेपाली कम्युनिष्ट धारको बहुमत पक्षलाई कसले नेतृत्व गर्छ भन्नेमा प्रचण्ड र ओलीबीच मुल प्रतिस्पर्धा देखिएको छ । दुवै नेताले आगामी चुनावमा पार्टीलाई पहिलो बनाउने र सत्तामा जाने रणनीतिमा देखिन्छन् । तर यी मध्ये कसको रणनीति सफल हुन्छ त्यो हेर्न भने केही समय कुर्नेपर्ने हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्