भारतले अर्को महिनादेखि खोप निर्यात थाल्ने, नेपालको रोकिएको खोप पाउने सम्भावना – Janadesh Daily | ePaper

भारतले अर्को महिनादेखि खोप निर्यात थाल्ने, नेपालको रोकिएको खोप पाउने सम्भावना


एजेन्सी ।
भारतले अर्को सातादेखि कोरोना खोप निर्यात गर्ने घोषणा गरेको छ । स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले अक्टोबरबाट खोप निर्यात सुचारु हुने बताएका हुन् । विश्वको सवैभन्दा ठुलो खोप उत्पादक भारतले कोरोना संक्रमणको दोश्रो लहर भयावह बनेपछि खोप निर्यात रोकेको थियो ।
भारतले खोप निर्यातमा रोक लगाएपछि नेपाल सहित अधिकांश विकाशोन्मूख मुलुकले खोप आयातका लागि संघर्ष गर्नुपरेको थियो । निर्यात रोक्नु अघि भारतले ७६ मुलुकमा ६ करोड भन्दा बढी मात्रा कोभिशिल्ड खोप निर्यात गरेको थियो । जस अन्र्तगत नेपालले पनि जनवरीमा भारतबाट अनुदानमा १० लाख खोप पाएको थियो । तर सिरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरेको २० लाख मध्ये १० लाख मात्रा खोप निर्यात प्रतिबन्धका कारण अझै पाउन सकेको छैन् । प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिङटन भ्रमणका क्रममा अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित क्वाडका नेतासँग भेटवार्ता गर्न लागेको बेला भारतले खोप निर्यात सुचारु गर्ने घोषणा गरेको हो ।
अधिकारीका अनुसार क्वाड बैठकमा खोप निर्यातका विषयमा छलफल हुने छ । स्वास्थ्य मन्त्री मण्डावियाले यो महिना घरेलु उत्पादकबाट २६ करोड मात्रा खोप प्राप्त हुने र अक्टोबरबाट मासिक ३० करोड भन्दा बढी मात्रा खोप उत्पादन हुने जानकारी दिए । उनले घरेलु माग भन्दा बढी हुने खोप अक्टोबरदेखि डिसेम्बरसम्म विभिन्न मुलुकमा निर्यात गरिने उल्लेख गरेका छन्। उनले कोभ्याक्स मार्फत विश्वलाई खोप आपुर्ती गरेर आफ्नो दायित्व पुरा गर्ने बताए । विश्वभरका सवै मुलुकमा खोपको पहुँच पुर्‍याउने लक्ष्य सहित गठन भएको कोभ्याक्सको नेतृत्व ग्लोबल भ्याक्सिन एलायन्स गाभी, विश्व स्वास्थ्य संगठन डब्लूएचओ र सेपीले गरिरहेका छन् ।
भारतले सन् २ हजार २१को अन्त्य सम्म सवै वयश्क जनसंख्यालाई खोप दिने लक्ष्य लिएको छ । जनवरी १६ तारिखबाट सुरु भएको खोप कार्यक्रममा अहिले सम्म ८१ करोड ८० लाख मात्रा खोप भारतीयलाई लगाइएको छ । शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवको अवसरमा सवैभन्दा धेरै अर्थात २ करोड भन्दा बढीलाई खोप प्रदान गरिएको थियो । अहिले सम्म खोप लगाउन योग्य वश्यक जनसंख्या मध्ये आधाले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने २१ प्रतिसत भन्दा बढीले पुर्ण मात्राको खोप लगाएका छन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्