अबको राजनीतिबारे माधव नेपालको प्रतिवेदनले गरेका संकेत, ओलीदेखि गठबन्धनसम्म (पूर्ण पाठ) – Janadesh Daily | ePaper

अबको राजनीतिबारे माधव नेपालको प्रतिवेदनले गरेका संकेत, ओलीदेखि गठबन्धनसम्म (पूर्ण पाठ)


जनादेश वाच ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको महत्वपूर्ण कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्नु रहेको बताएका छन् । मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा पार्टीका तत्कालिन कार्यभारबारे उल्लेख गरेका हुन् ।

‘केपी ओली गुटले फैसलाका भ्रमलाई चिर्ने र त्यस गुटले गरेका राष्ट्र विरोधी, जनविरोधी र लोकतन्त्र विरोधी क्रियाकलापहरूको भण्डाफोर गर्ने अर्को एक महत्वपूर्ण वैचारिक कार्यभार हुनेछ’ नेता नेपालले भनेका छन् । त्यस्तै उनले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्नु महत्वपुर्ण कार्यभार हुने पनि बताएका छन् ।

‘आजको हाम्रो एउटा महत्वपूर्ण कार्यभार नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु । आज नेपाली कम्युनिष्ट आन्दोलनमा जुन गलत विचार र विकृति विसङ्गति फैलिएको छ त्यसलाई परास्त नगरी कम्युनिष्ट आन्दोलनको रक्षा हुन सक्तैन । गलत विचार र विसङ्गतिलाई परास्त गर्ने वैचारिक सङ्घर्षबाट नै हो । वैचारिक सङ्घर्ष भनेको अध्ययन, बहस, छलफल आदि कार्य सञ्चालन गर्नु हो । त्यसैले यतिबेलाको हाम्रो वैचारिक कार्यभार व्यापक रूपमा राजनीतिक तथा सैद्धान्तिक अध्ययन र प्रशिक्षण सञ्चालन गर्नु हो’, अध्यक्ष नेपालको प्रस्तावमा भनिएको छ ।

त्यस्तै उनले यो कार्य पुरा गर्न पार्टीका दस्तावेजहरूको साथै विभिन्न प्रकारका अध्ययन सामग्री तयार गर्ने, नियमित रूपमा पार्टी स्कूल सञ्चालन गर्ने, पार्टीले अगाडि सार्ने नीतिगत विषयका दस्तावेजहरूउपर विभिन्न ढङ्गले छलफल चलाउने, विभिन्न प्रकारका अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने र सहभागीहरूबाट सुझाव लिने आदि कार्य गरिने उल्लेख गरेका छन् ।

समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई हटाउन सामाजिक सचेतना अभियान सञ्चालन गर्ने, जातीय विभेद, छुवाछुतजन्य व्यवहार, महिला हिंसाजस्ता कुकृत्यका विरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यमा पार्टीले अगुवाइ गर्ने तथा सन्देशमूलक नाटक, गीत, कविताजस्ता साहित्यको माध्यमबाट पनि अन्धविश्वास, कुरीति र विकृति विसङ्गतिका विरुद्ध अभियान चलाइने नेता नेपालको प्रस्तावमा भनिएको छ ।

त्यस्तै एकीकृत समाजवादीको राजनीतिक कार्यभारमा लोकतन्त्रको रक्षा गर्नु र यसलाई विकसित गर्दै समाजवादको दिशामा अगाडि बढाउनु मुख्य रहेको अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ ।

‘त्यसका निम्ति नेपाली जनताले आफ्ना प्रतिनिधिहरू मार्फत आफैं बनाएको संविधानको रक्षा र पूर्ण कार्यान्वयन हुनुपर्दछ । हामी त्यस कार्यमा पूर्ण निष्ठाकका साथ प्रयत्नशील रहने छौँ’अध्यक्ष नेपालले प्रतिवेदनमा थप भनेका छन्, ‘राजनीतिमा व्याप्त भ्रष्टता, नातावाद, कृपावाद, दलाली, राजनीतिक पदहरुको खरिद बिक्री आदि कारणले आम रूपमा राजनीतिप्रति वितृष्णा र विकर्षण फैलिएको छ । यो वितृष्णा र विकर्षणलाई हटाएर राजनीतिलाई शुद्ध पार्नका निम्ति भ्रष्टाचार, कुशासन, दलाली, कमिसनतन्त्र, नातावाद, कृपावाद आदि गलत कार्यका विरुद्ध राजनीतिक जागरण अभियान सञ्चालन गर्नु आवश्यक छ । देशको सचेत युवा पङ्क्तिलाई संलग्न गराएर राजनीतिक सचेतना र शुद्धीकरण अभियान सञ्चालन गरिने छ । युवाहरूलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिएर युवा नेतृत्व विकास गर्ने र राजनीतिमा युवाहरूको सकृय सहभागिता मार्फत राजनीतिक शुद्धीकरण अभियान सञ्चालन गरिने छ । त्यस अभियानले देशको दूषित राजनीतिक वातावरणलाई शुद्ध पार्नका निम्ति र हाम्रा आफ्नै गलत आचार व्यवहारलाई शुद्ध पार्नका निम्ति समेत योगदान गर्नेछ ।’

अध्यक्ष नेपालले हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु रहेको पनि बताएका छन् ।

‘वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो । छिमेकी तथा सवै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नु पनि यतिबेलाको अर्को एक महत्वपूर्ण राजनीतिक कार्यभार हो’, नेपालको प्रस्तावमा भनिएको छ ।

सत्ता गठबन्धन चुनावसम्मै
अध्यक्ष नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनाबसम्म लानुपर्ने बताएका छन् । अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ,‘ अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

एमाले अध्यक्ष केपी ओलीको गफाडी प्रवृत्तिका कारण मुलुकको राजनीतिक स्थिरता खल्बलिएको नेता नेपालको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,– ‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’

हेर्नुस् प्रतिवेदनको पूर्णपाठः

Pratiwedan of com.Madhavkumar Nepal

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्