संसारभर आक्रमण गर्ने अमेरिकी गुप्तचरहरूमाथि नै अदृश्य आक्रमण, के हो ‘हवाना सिन्ड्रोम’ ! – Janadesh Daily | ePaper

संसारभर आक्रमण गर्ने अमेरिकी गुप्तचरहरूमाथि नै अदृश्य आक्रमण, के हो ‘हवाना सिन्ड्रोम’ !


जनादेश वाच ।

अमेरिका संसारको सर्वशक्तिमान देश हो । उसका गुप्तचर संस्थाहरुले संसारको कुनै पनि स्थानमा चाहेको व्यक्ति वा संस्थाचालाई चाहेकै बेला आक्रमण गर्न सक्छन् ।

तर आश्चर्यको कुरा अमेरिकी गुप्तचर संस्था सीआईएका अधिकारी तथा विभिन्न देशमा रहेका अमेरिकी दूतावासका कर्मचारीहरू केही वर्षदेखि अनौठो समस्याको शिकार बनिरहेका छन् ।

हवाना सिन्ड्रोम नामक लक्षणका कारण महिनौंसम्म चक्कर आउने र थकाइ लाग्ने समस्या उनीहरूमा देखिएको बताइन्छ । टाउको दुख्ने, वाकवाकी आउने र मस्तिष्कमा समेत असर पर्ने यसका अन्य लक्षण हुन् ।

हवाना सिन्ड्रोम देखिएका मानिसले मौरीको गुनगुन, फलाम काट्दाको चिर्र र सुँगुर चिच्याएको चर्को आवाज जस्तो सुन्ने गरेको बताएका छन् ।

चीन, अस्ट्रिया, भियतनाम लगायत दर्जनौं देश र ह्वाइट हाउसमै समेत अमेरिकी अधिकारीहरूमा यस्तो लक्षण देखिएको बताइएको छ । अहिलेसम्म यस्ता ३०० वटा घटना भएको बताइन्छ ।

हालै सीआईएका निर्देशक विलियम बर्न्स भारत भ्रमणमा आउँदा उनको टोलीका एक सदस्यमा हवाना सिन्ड्रोमको लक्षण देखिएको सीएनएनले खबर दिएको छ । तीनजना स्रोतलाई उद्धृत गर्दै सीएनएनकी काइली एटवूडले लेखेको रिपोर्टमा उल्लेख भएअनुसार, लक्षण देखिएपछि ती सदस्यलाई उपचार गराउनुपरेको थियो ।

सन् २०१६ मा क्युबाको राजधानी हवानामा अमेरिकी अधिकारीहरूमा यस्तो लक्षण पहिलोपटक देखिएकाले यसलाई हवाना सिन्ड्रोम नाम दिइएको हो । गत अगस्ट महिनामा पनि अमेरिकी सरकारका उच्च अधिकारीहरू उपराष्ट्रपति कमला ह्यारिससँग भियतनाम जान लाग्दा ती अधिकारीमा हवाना सिन्ड्रोम देखिएपछि भ्रमण केही दिन सरेको थियो । भ्रमण टोलीका दुईजनालाई औषधोपचार गर्नुपरेको थियो ।

यसरी आफ्ना अधिकारीहरूमा हवाना सिन्ड्रोम देखिन थालेपछि अमेरिकाको गुप्तचर निकाय अफिस अफ द डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले यस विषयमा व्यापक अनुसन्धान थालेको छ । सन् २०२१ को अन्त्यसम्ममा अनुसन्धान टुंग्याउने लक्ष्य लिइएको तर यसको प्रतिवेदन सार्वजनिक गर्ने योजना नरहेको एक रिपोर्टमा उल्लेख छ ।

अमेरिकाका अनुसन्धानकर्मीहरूले के कारणले अनि कसले कसरी हवाना सिन्ड्रोम गराइरहेको पत्ता लगाउन सकेका छैनन् । क्युबाका वैज्ञानिकहरूले भने हवाना सिन्ड्रोमको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

क्युबाली सरकारले गठन गरेको १६ जना विज्ञको प्यानलले हवाना सिन्ड्रोमसम्बन्धी दाबीलाई वैज्ञानिक रूपमा स्वीकार गर्न नसकिने अनि क्युबाको धर्तीमा यस्तो सिन्ड्रोम गराउने कुनै वैज्ञानिक प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ ।

क्युबाको आधिकारिक समाचार साइट क्युबाडिबेटमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रहस्यमय सिन्ड्रोमको भाष्य वैज्ञानिक रूपमा अस्वीकार्य छ किनकि यसको कुनै प्रमाण भेटिँदैन । तर नयाँ प्रमाण फेला परेमा त्यसको समीक्षा गर्ने विज्ञहरूको प्यानलले जनायो ।

संसारका विभिन्न देशमा रहेका अमेरिकी दूतावासका कर्मचारीले यसबारेमा गुनासो गरेकाले अनि यसको सत्यतथ्य पत्ता नलागेकाले हवाना सिन्ड्रोमका विषयमा अनेकथरी षड्यन्त्र सिद्धान्त पनि बनाइएका छन् । आवाजको किरण फ्याँक्ने बन्दूक (साउन्ड रे गन) का कारण यस्तो रोग लाग्ने एकथरीले दाबी गरेका छन् । त्यस हतियारले माइक्रोवेभ, अल्ट्रासाउन्ड, विष वा क्रिकेट भनिने कीराको समेत प्रयोग गरिने बताइएको छ ।

पोहोर साल लद्दाखमा भारतीय सैनिकहरूका विरुद्ध चिनियाँहरूले यस्तै किसिमको माइक्रोवेभ आक्रमण गरेको खबर पनि आएको थियो । चीनको रेनमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक जिन कानरोङले माइक्रोवेभ आक्रमणका कारण भारतीय सैनिकहरूले बान्ता गरेको अनि १५ मिनेट पनि उभिन नसकेको, त्यसपछि लडाइँ नै नगरी चिनियाँ सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण दुईवटा डाँडामा कब्जा गरेको दाबी गरे । तर भारतीय सेनाले यस दाबीलाई खारेज गरेको थियो ।

यस रहस्यमय रोग र आवाजबीचको सम्बन्ध स्थापित गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिकहरूको सहकार्य हुनुपर्ने उनीहरूको माग छ । राजनीतिक दबाबमा त्रुटिपूर्ण निष्कर्ष निस्कने हुनाले योग्य व्यक्तिहरूले स्वतन्त्र रूपमा प्रमाणको समीक्षा गरेर मात्र टुंगोमा पुग्नुपर्ने उनीहरू लेख्छन् ।

रुसको हात छ कि भनेर पनि भनेर पनि अमेरिकी अधिकारीहरूले शंका गरेका छन् । शीतयुद्धको बेलामा सोभियत वैज्ञानिकहरूले मस्तिष्कमा चोट लगाउने प्रविधिको अनुसन्धान गर्ने गरेको गोर्डन कोरीयाले बीबीसीमा लेखेका छन् । उनले इलिनोई विश्वविद्यालयका प्राध्यापक जेम्स लिनलाई उद्धृत गर्दै सोभियतहरूको प्रयोगशालामा माइक्रोवेभ आक्रमणको परीक्षण गर्ने गरिएको र त्यो अहिले पनि कायम रहेको हुन सक्ने लेखेका छन् । यसमा सोभियतहरूले मात्र नभई अमेरिकीहरूले पनि काम गरेको सन्दर्भ आफूले फेला पारेको लिनले कोरीयालाई बताएका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्