सी चिन फिङको भाषण लोकार्पण गर्दै शितल निवासले दिएको संकेत, पुरानो पुस्तक नयाँ लोकार्पण – Janadesh Daily | ePaper

सी चिन फिङको भाषण लोकार्पण गर्दै शितल निवासले दिएको संकेत, पुरानो पुस्तक नयाँ लोकार्पण


जनादेश वाच ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘सी चिनफिङ : चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दै उनले विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविष्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको बताइन्।

पुरानो पुस्तक शितल निवासमा लोकार्पणको कथा
राष्ट्रपतिले विहीबार लोकार्पण गरेको छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको पुस्तक चार वर्ष अघिको हो भने दुई वर्ष पहिले नै यो पुस्तक नेपालीमा अनुवाद गरिएको हो ।

सीको पहिलो भाग सन २०१४ मा आएको थियो । उनको भाषणको संगालो हो । यसको दोस्रो भाग २०१८ को पहिलो महिनामा नै आएको थियो । सीको ‘सी चीनफिङ : चीनको शासन व्यवस्था खण्ड-२’ को नेपाली संस्करण लोर्कापण र खण्ड-३ को अंग्रेजी संस्करणको परिचात्मक कार्यक्रम गरिएको हो । पुस्तकको लोकार्पण राष्ट्रपति कार्यालयमा गरियो ।

लोकार्पणका लागि चिनियाँहरूले राष्ट्रपति भवनभित्रै आफ्नै तवरले स्टेज तयार पारेका थिए । बिहीबार केही कूटनीतिज्ञहरूलाई समेत साक्षी राखेर त्यहाँ पुस्तक राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत होउ यान्छीसँगै उभिएर लोर्कापण गरेकी हुन् ।

४ वर्ष पुरानो पुस्तक किन शितल निवासमै लोकार्पण गरियो त ? राष्ट्रपतिको राजनीतिक सल्लाहकार लालबाबु यादबले राष्ट्रपति सीको पुस्तक भएकाले लोकार्पण गरिएको र अन्य कोणबाट सोच्‍ने काम नै नभएको बताए । उनले भने, ‘यसको कूटनीतिक इम्प्याक्टको विषयमा छलफल गरेर मात्र भन्न सक्छु ।’ यतिबेला स्पष्ट हुनुपर्छ प्रधानमन्त्री स्वयं राष्ट्रपतिको सल्लाहकार हुन । त्यस्तै परराष्ट्रमन्त्री स्वयं राष्ट्रपतिका कूटनीतिक सल्लाहकार हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिक ढकालले पहिले पनि यस्तै कार्यक्रम गरिएकोले यसपटक पनि गर्न दिइएको जानकारी दिए । यसलाई अन्य हिसावबाट हेर्न नमिल्ने भन्दै उनले भने, ‘नेपाल चीन सम्बन्धलाई यस प्रकारको कार्यक्रमले हितै गर्छ । पक्कै नराम्रो गर्दैन । तर अर्थ अनेक लगाउन सकिन्छ ।’

यसको अनुवाद चीन अध्ययन केन्द्रले गरेको र त्यो पुस्तक केन्द्रले चिनियाँ दूतावासलाई हस्तान्तरण गरेको हो । चीन अध्ययन केन्द्रका प्रमुख एवं पूर्व राजदूत सुन्दरनाथ भट्टराईले पहिले पनि गरेको हुनाले अहिले पनि चिनियाँ दूतावासको पहलमा राष्ट्रपति कार्यालयमा कार्यक्रम भएको हो । चीन अध्ययन केन्द्रले तेस्रो पुस्तक पनि अनुवादको प्रक्रियामा गएको भट्टराईले जानकारी दिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्