अमेजोनको पहिलो ‘होम रोबोट’ सार्वजनिक, यस्ता छन् विशेषता – Janadesh Daily | ePaper

अमेजोनको पहिलो ‘होम रोबोट’ सार्वजनिक, यस्ता छन् विशेषता


टेक अपडेट ।

अमेजोन कम्पनीले मंगलबार लामो समयदेखि चर्चा गर्दै आएको आफ्नो पहिलो ‘होम रोबोट’ सार्वजानिक गरेको छ । घरका लागि उपयोगी हुने भएकाले यसलाई होम रोबोट भनिएको हो जसलाई ‘एस्ट्रो’ को नामले पनि बोलाइन्छ । यसको मूल्य चाहिँ ९९९ डलर तोकिएको छ ।

तर यसलाई अमेजोनले तुरुन्तै विक्रीमा राख्नेछैन । मानिसहरुले पहिले यसका लागि साइन–अप गर्नुपर्ने हुन्छ र पछि कम्पनीले अर्डर गर्न निम्ता गरेपछि मात्र खरिद गर्न पाइनेछ । कम्पनीले एकैपटक धेरै ग्याजेट निर्माण गर्नु नपरोस् भनेर यस्तो गर्न लागेको छ जसले फ्लप हुनबाट पनि जोगाउनेछ । जस्तै यसअघि अमेजोनको ‘फायर फोन’ पर्याप्त विक्री नभएपछि २०१५ मा बनाउन बन्द गर्नुपरेको थियो ।

झट्ट हेर्दा एस्ट्रो एक अनौठो ग्याजेट जस्तो देखिन्छ । यो एउटा सानो कुकुरको आकारको हुन्छ । तीनवटा मध्ये यसका दुई पाङ्ग्रा ठूला छन् जसले यसलाई अड्किनबाट जोगाउनेछ भने तेस्रो सानो पाङ्ग्राले चाहिँ यसलाई घुम्न मद्दत गर्दछ । यसमा क्यामरा पनि जडान गरिएको छ जुन ४२ इन्च बराबर उठ्न सक्छ । यसले हामी नहुँदा घरको ख्याल राख्न सक्छ ।

त्यस्तै यो हाम्रो पछिपछि हिँड्दै गीत बजाउने या अफ्नो स्क्रिनमा टिभी कार्यक्रम चलाउन पनि सक्छ । यसमा दश इन्चको ‘टचस्क्रिन’ रहेको छ । यसले अनुहार पहिचान गर्न पनि सक्छ भने पछाडि पट्टीको यसको कम्पार्टमेन्टमा दुईवटा सोडासम्म अटाउन सक्छ ।

एस्ट्रोलाई अमेजोनका अन्य विभिन्न ग्याजेटहरुको मिश्रण पनि भनिएको छ । यसको क्यामरा भिडियो च्याट गर्न र घरको सुरक्षाका लागि पनि प्रयोग गर्न सकिन्छ । यसलाई घरमा स्थापित गराउना साथ पहिले यसले हाम्रो घरको नक्सा निर्माण गर्नेछ ।

यससँग हामीले एलेक्सा जस्तैगरी कुरा गर्न पनि सक्छौँ र छुट्टै नाम राखिदिन पनि पाउछौँ । अनि मौसमका बारेमा या खेलहरुका स्कोर सोध्न सक्छौँ । त्यस्तै ट्याबलेटमा जसरी फिल्म हेर्न, सिरिज हेर्न पनि मिल्छ ।

एस्ट्रोलाई कन्ट्रोल गर्न मोबाइलमा एउटा एप राख्दा पुग्छ । यो विशेषगरी एक्लै बस्नेहरु घर छाडेर जानुपर्दा घरको ख्याल राख्न अथवा परिवारका कोही सदस्य बिरामी हुँदा रेखदेख गर्न बढी उपयोगी हुने देखिन्छ । त्यसैगरी यसमा रक्तचाप नाप्ने यन्त्र बोक्ने ब्याक स्टोरेज पनि हुनेछ । यसले बिरामी हुँदाका बेलामा मद्दत गर्नेछ ।

एस्ट्रोको हात नभएको हुँदा यसले कुनै कुरा टिप्न चाहिँ सक्दैन । यसले घर सफा गर्ने या फ्रिजबाट केही ल्याइदिन नसक्ने भएपनि होम रोबोटका रुपमा यो धेरै ‘कुल’ ग्याजेट हुने बताइएको छ । र यत्तिको मूल्यमा यो आकर्षक उपकरण भित्रै पर्ने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्