साफ च्यापियनसिप: नेपाल-भारत भिडन्त आज, के छ सम्भावना, यसो भन्छन् प्रशिक्षक र कप्तान – Janadesh Daily | ePaper

साफ च्यापियनसिप: नेपाल-भारत भिडन्त आज, के छ सम्भावना, यसो भन्छन् प्रशिक्षक र कप्तान


जनादेश स्पोर्ट्स वाच ।

मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा सुरुदेखि लगातार दुई खेल जितेको नेपाल आज भारतसँग भिड्दै छ। यसअघि नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो भने र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले जितेको थियो।

अहिलेसम्म नेपाल २ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। यसपछि ३ खेलमा ४ अंक ल्याएको बंगलादेश दोस्रो स्थानमा छ। त्यस्तै माल्दिभ्स २ खेलमा ३ अंक प्राप्त गरी तेस्रो स्थानमा छ भने २ खेलमा २ अंक जोडेको भारत चाैथाे स्थानमा छ। यस्तै श्रीलंकाले ३ खेलमा एक अंक पाएको छ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार राति ९:४५ मा सुरु हुनेछ। नेपाल–भारतबीचको प्रतिस्पर्धा एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ।

के छ सम्भावना

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल जित्न नेपाललाई कठिन हुने बताएका छन्। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेलपहिले बोल्दै प्रशिक्षक अल्मुताइरीले नेपालका लागि यो खेल चुनौतीपूर्ण रहेको बताए।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले आइतबार दक्षिण एसियाकव बलियो टोम भारतसँग खेल्दैछ। नेपाल र भारतबीचको समूह चरणको यो खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

‘भारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ। भारत यस क्षेत्रको उत्कृष्ट टिम हो’, प्रिम्याच कन्फ्रेसमा उनले भने, ‘उनीहरु ७ पटकका च्याम्पियन हुन्।,’

अल्मुताइरीले भारतलाई हराउने नेपालको सम्भावना एक प्रतिशत मात्रै रहेको उल्लेख गरे। ‘मेरो विचारमा भारतले खेल जित्ने सम्भावना ९५ प्रतिशत छ। ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ,’ उनले भने, ‘तर मलाई आशा छ हामी हार्ने छैनौँ।’

यसअघिका साफमा दबदबा राख्दै आएकव भारतले यो पटकको साफमा फितलो प्रदर्शन गरिरहेको छ। भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेर २ अंक जोडेको छ।

पहिलो खेलमा भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

किरणको जित्ने सपना
टिमका कप्तान किरण चेमजोङले भारतविरुद्ध आइतवार हुने खेलका लागि राम्रो तयारी गरिएको बताएका छन्।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत आइतवार हुने खेलअघि शनिबार आयोजित प्रि-म्याच कन्फरेन्समा उनले बलियो टिमलाई हराउन राम्रो तयारी गरेको बताए।

‘हामीले राम्रो तयारी गरेका छौँ। प्रशिक्षकले भने जस्तै भोलिको खेल कठिन छ। हामी चरणबद्ध अघि बढिरहेका छौँ’, उनले भने, ‘हामीले दुई चरण पार गरिसकेका छौँ। लक्ष्य पूरा गर्न भोलि अर्को चरण छ। हामी जितकै लागि ९० मिनेटसम्म खेल्छौँ।’

गोल किपरसमेत रहेका किरणले साफ जित्ने सपना पूरा गर्न नेपालका लागि भारतविरुद्धको खेल महत्वपूर्ण रहेको बताए।

‘सपना देख्नु पर्छ। सपना देखेर मात्रै लक्ष्यमा पुगिन्छ। मेरो मात्रै होइन, सारा नेपाली र फुटबल फ्यानको सपना हो’, उनले भने, ‘सपना पूरा गर्न हामी हरेक दिन फाइट गरिरहेका छौँ। भोलिको खेल हाम्रो लागि एकदमै महत्वपूर्ण छ। त्यो सपना पूरा गर्न हामी सक्दो प्रयास गर्छौँ।’

किरणले यो पटक साफमा नेपाली टिम अन्डर डग टिम रहेको पनि बताए। ‘प्रशिक्षकले उनीहरु साफ क्षेत्रमा बलियो टिम रहेको बताएका छन्। तर, यसको मतलब यो होइन, हामी राम्रो टिम होइनौं’, उनले भने, ‘हामी यस प्रतियोगिताको अन्डर डग टिम हौँ। हामी हरेक खेलमा जित्ने गरी खेल्छौँ।’

नेपालले अहिलेसम्मका दुवै खेलमा जित दर्ता गराएको छ। पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ३-२ ले हराएको थियो।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्