नाकामा तालिमप्राप्त कुकुर परिचालन – Janadesh Daily | ePaper

नाकामा तालिमप्राप्त कुकुर परिचालन


राँझा ।

नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् ।

नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषधसम्बन्धी जाँच गरेको थियो ।

सीमावर्ती भारतीय सहर रुपैडिहाबाट अवैधरूपमा लागुऔषध आयात हुने गर्दछ । नाकामा खटिएको प्रहरीले विशेष सुराकी र शङ्काका आधारमा जाँच गर्दा बेला–बेलामा लागुऔषध बरामद हुने गरेको छ ।

तालिमप्राप्त कुकुर परिचालनपछि सीमा क्षेत्रबाट हुने अवैध लागुऔषधको कारोबार तथा आपराधिक कार्य रोक्नमा ठूलो सहयोग हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न आउनेको भीडभाड छ । उक्त नाका खुलेसँगै सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ताको पनि भीडभाड बढेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्