बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै, गाउँ जाने बढेपछि सुनसान हुँदै काठमाडौं – Janadesh Daily | ePaper

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै, गाउँ जाने बढेपछि सुनसान हुँदै काठमाडौं


जनादेश वाच ।
बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ ।

सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।

आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ।

दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।

काठमाडौं सुनसान बन्दै
लाखौं मानिसले दशै मनाउन उपत्यका छोडेको छन् । देशका विभिन्न स्थानबाट काठमाडौंलाई कर्मथलो बनाएका मानिसहरु महान चाड दशैं मनाउन आ आफ्नो पुर्खौली थलो जाँदा काठमाडौं सुनसान देखिन थालेको छ ।

काठमाडौंबाट टाढा पर्ने स्थानका मानिसहरुले अगाडि नै उपत्यकाका छाडिसकेको भए पनि काठमाडौं नजिकको स्थानहरु जस्तै सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायतका जनताले केही ढिला उपत्यका छाड्ने हुँदा यहाँबाट बाहिरिनेको संख्या अझै बढि हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


नेपालको सबैभन्दा ठूलो र लामो मानिएको दशैंमा मानिसहरु विजया दशमीको दिनसम्म पनि घर फर्कन कोशिस गर्ने गर्दछन् । यसपाली शुक्रबार विजया दशमी परेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैभरिमा करिब २४ लाखले उपत्यका छोड्ने अनुमान गरिएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्