नेपालमा महामारी अन्त्य हुन लागेको हो ? सङ्क्रमण दर ५ प्रतिशतभन्दा कम, झुक्काउँदै छ भाइरस ! – Janadesh Daily | ePaper

नेपालमा महामारी अन्त्य हुन लागेको हो ? सङ्क्रमण दर ५ प्रतिशतभन्दा कम, झुक्काउँदै छ भाइरस !


जनादेश हेल्थ डेस्क ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा सङ्क्रमण देखिएको थियो ।

उनका अनुसार आइतबारको सङ्क्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो । कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण सङ्क्रमण घट्दै गएको देखिएको छ ।

उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ । यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।

झुक्क्याउँदै छ भाइरस !
कौशलटारकी ४७ वर्षीया सावित्री पौडेल ज्वरो आउने, खोकी लाग्ने र शारीरिक रुपमा कमजोर महशुस भएको तीन दिन घरमै आराम गरिन् । तर ज्वरो घटेन, बरू खोकी बढेर सास फेर्न असहज भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगिन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले चिकित्सकले उनलाई एण्टिबायोटिक औषधि दिए भने पीसीआर परीक्षण र छातीको एक्स रे गराए । भोलिपल्ट रिपोर्ट आउँदा कोरोना नेगेटिभ देखियो र छातीमा पनि खराबी देखिएन । एक साता आराम गरेपछि उनी निको भइन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यस्तै लक्षण लिएर पुग्ने बिरामी बढेको निर्देशक अनुप बास्तोला बताउँछन् । उनका अनुसार पछिल्लो चार महिनामा टेकु अस्पतालमा कोरोनाजस्तै लक्षण देखिएका बिरामी बढेका छन् । कलंकीकी २७ वर्षीया सलिना महर्जन पनि रुघाखोकी र ज्वरो आएपछि अस्पताल पुगेकी थिइन् । कोरोना संक्रमणको बेलामा जस्तै लक्षण देखिएता पनि भाइरल ज्वरो ठानेर घरमै आराम गरिन् ।

चौथो दिन पुग्दा सास फेर्न गाह्रो भएको महशुस हुन थाल्यो भने मांशपेशी दुख्न थाले । एकोहोरो खोकी बढ्न थालेपछि मात्रै उनी अस्पताल गएकी थिइन् । उनको पनि पीसीआरको लागि स्वाब संकलन गर्नुका साथै छातीको एक्स रे गरियो । दुबैको नतिजा सोचे विपरीत आयो अर्थात उनलाई कोरोना संक्रमण भएर निमोनिया भइसकेको रहेछ ।

अकस्मात ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीर र टाउको दुख्ने भयो भने सामान्यतया मौसमी फ्लु भनेर बुझ्न सकिने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. बास्तोला बताउँछन् । उनका अनुसार मौसमी फ्लुले पनि दीर्घरोगी र जेष्ठ नागरिकलाई निकै नै जटिल बनाउँछ ।


पछिल्लो समय धेरै मानिसहरु मौसमी रुघाखोकी ठानेर घरमै बस्दा निमोनियाले समस्यामा परेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार अहिले कोरोनाजस्तै मौसमी फ्लुको लक्षणले चिकित्सकलाई समेत झुक्याएको छ ।

धेरै मानिसहरु मौसमी फ्लु भनेर बस्दा कोरोनाले मल्टी अर्गानमा संक्रमण गराएर सिकिस्त बनाएको उनीहरु बताउँछन् । ‘झट्ट हेर्दा लक्षण उस्तै भएकाले सर्वसाधारण मात्र होइन, चिकित्सकहरु नै झुक्किन्छन् । त्यसैले ढुक्क हुन पीसीआर गर्नुको विकल्प छैन,’ निर्देशक डा . बास्तोला भन्छन् ।

अस्पतालको तथ्याकंअनुसार गत असारमा कोरोनाजस्तै लक्षण देखिएका ४० जना बिरामीको परीक्षण गर्दा १२ जनामा मौसमी फ्लु देखिएको थियो । गत साउनमा ७८ जनाको परीक्षण गर्दा ४८, भदौमा ७५ जनामध्ये ४२, र असोजमा १० जनामध्ये ८ जनामा मौसमी फ्लु देखिएको थियो ।

देशभरका अस्पतालमा यसैगरी फ्लुको बिरामीको बढेको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्ण पौडेल बताउँछन् । उनका अनुसार देशभरका विभिन्न जिल्लामा मौसमी फ्लुको बिरामी भेटिएको रिपोर्ट छ । पाटन अस्पतालमा पनि कोभिड जस्तै लक्षण देखिने मौसमी फ्लुका बिरामी देखिएको कोभिड फोकल पर्सन डा. विमल पाण्डे बताउँछन् । उनका अनुसार कोरोनाको लक्षण देखिएर परीक्षण गराएका धेरैको नतिजा नेगेटिभ आएको छ । ‘ज्वरो आएर थला परेपछि कोरोनाको शंका गरेर परीक्षण नगर्दा सिकिस्त हुने डर हुन्छ, त्यसैले परीक्षण नगर्नुको विकल्प नै हुन्न,’ डा. पाण्डे भन्छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्