देउवाले किन पठाएका थिए महतको टोलीलाई दिल्ली ? सत्ता स्वार्थ कि द्विपक्षीय सम्बन्ध विस्तार! – Janadesh Daily | ePaper

देउवाले किन पठाएका थिए महतको टोलीलाई दिल्ली ? सत्ता स्वार्थ कि द्विपक्षीय सम्बन्ध विस्तार!


जनादेश वाच ।

सत्तारुढ नेपाली कांग्रेसको टोलीले अघिल्लो साता भारत भ्रमण गरेपछि कूटनीतिक वृत्तमा प्रमुख दुई विषय चर्चामा आएका छन्। एकथरीको विश्लेषण छ– प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतसँगको सम्बन्ध थप सुमधुर बनाउन शेरबहादुर देउवाले आफ्ना दूतलाई भ्रमणमा पठाएका हुन्।

अर्कोथरीले चाहिँ कांग्रेस नेताहरूको भारत भ्रमण कांग्रेस सभापतिसमेत रहेका देउवाको सत्ता स्वार्थसँग जोडिएको टिप्पणी गरेका छन्। पार्टीको चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका देउवाले भारतीय पक्षको साथ चाहेको हुन सक्ने उनीहरूको आंकलन छ।

उसो त नेपालमा सरकार परिवर्तनपछि भारतका तर्फबाट राजनीतिक तहमा नै तीनवटा भ्रमण भएका छन्। पछिल्ला भ्रमणले केपी ओली नेतृत्वको सरकारका बेला भारतसँग चिढिएको सम्बन्धलाई पूर्ववत् अवस्थामा ल्याउन सहयोग गरिरहेको बुझाइ अर्काथरीको छ।

तत्कालीन नेकपा सरकारका बेला चिनियाँ प्रभाव बढेको विश्लेषण गर्दै भारतीय संस्थापन पक्षले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै विशेष चासो दिएको परराष्ट्र मामिलाका जानकार डा. प्रमोद जयसवाल बताउँछन्।

भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा असोज २१ गते बिहीबार नयाँदिल्ली गएका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली असोज २५ गते सोमबार स्वदेश फर्किएको छ।

गत अगस्टमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका बेला उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए। कांग्रेस सहमहामन्त्री डा. महतको निमन्त्रणामा नेपाल आएका उनले नै कांग्रेसलाई भारत भ्रमणको निम्तो दिएका थिए। यस्तो अवस्थामा भारतले पनि नेपालका राजनीतिक दलहरुसँगको सम्बन्ध विस्तार गर्न चाहेको कुरा भारतीय पक्षबाट भएका भ्रमणले पनि प्रस्ट पार्दछ।

भ्रमण राजनीतिक मात्रै कि धार्मिक पनि?
भारत भ्रमणमा गएको कांग्रेस टोलीले सो भ्रमणलाई भारतीय राजनीतिक दलसँगको ‘सम्बन्ध विस्तार’ को नाम दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो समय काम गरेका तथा उनका विश्वास पात्र मानिएका तरुण मिश्रा देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका थिए।

मिश्राले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई पशुपतिनाथको संरक्षण गर्ने विषय पनि सुझाएका थिए। उनको संकेत हिन्दु धर्मप्रति सरकार ‘नरम’ होस् भन्ने थियो। त्यसपछि विजय चौथाइवाले र राम माधवले नेपाल भ्रमण गरे। उनीहरुले नेपालका राजनीतिज्ञहरुसँगको भेट सकिएपछि नेपालको सत्तारुढ कांग्रेसको टोली भारत भ्रमणमा गएको थियो। चौथाइवाले र माधव राष्ट्रिय स्वयंसेवक संघका पूर्व पदाधिकारीसमेत हुन ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतसँगै पूर्वराज्यमन्त्रीहरु उदयशमशेर राणा र अजय चौरसिया थिए। टोलीले भारतमा रहँदा भाजपाका अध्यक्ष जेपी नाड्डा, महासचिव अरुण सिंहलगायतका भाजपाका नेताहरुसँग भेटवार्ता गरेको छ।

दिल्लीबाट लखनउ पुगेको नेपाली टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गरेका थिए। मुख्यमन्त्री हुनुअघि गोरखपुरको गोरखनाथ मठका महन्त योगी हिन्दु राज्यका पक्षधर हुन्। डा. महतले मुख्यमन्त्री योगीसँगको भेट धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई सुमधुर बनाउने विषयमा केन्द्रित भएको बताएका छन्।

‘सभापतिमा जित्नका लागि कहीं न कहीं भारतीय साथ त रहन्छ नै। यो कुरा राम्ररी बुझेका देउवाले आफू हिन्दूप्रति पनि प्रतिबद्ध छु भन्ने सन्देश दिन उक्त टोलीलाई लखनउ हुँदै काशी पठाएको हुन सक्छ,’ डा. जयसवालले भने ।

मुख्यमन्त्री योगीसँगको भेटपछि नेपाली टोली काशी गएको थियो। धार्मिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण काशीमा नेपाली टोलीले काशी विश्वनाथ मन्दिरको दर्शन गरेको थियो भने ऐतिहासिक महत्त्व बोकेको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) मा पनि भ्रमण गरेको थियो।

देउवाको ‘दूत’ बनेर भारत भ्रमणमा गएको टोलीको उद्देश्य राजनीतिक मात्र नभएर धार्मिक पनि रहेको स्पष्ट छ। कांग्रेसभित्र पनि हिन्दुवादी मत बढ्दै गएको अवस्थामा आसन्न महाधिवेशनमा उक्त मतलाई आफूतिर तान्न पनि यो भ्रमण भएको हुनसक्ने कूटनीतिज्ञहरुले बताएका छन्।

देउवाको भारत भ्रमणको तयारी
प्रधानमन्त्री नियुक्त भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले पार्टीको महाधिवेशनअघि भारत भ्रमण जाने तयारी गरेका छन्। प्रधानमन्त्री नियुक्त भएलगत्तै भारत भ्रमण जाने परम्परालाई कोभिड–१९ ले केही धक्का लगाएको भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएपछि उनले भारत जाने संकेत गरिसकेका थिए।

दुवै देशबीच आपसी सम्बन्ध झन् मजबुत र सुमधुर बनाउन यो वार्ता सार्थक रहेको उनले बताएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा पनि कुराकानी भएको जानकारी आफूले पाएको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए।

सीमा मुद्दा र तुइन प्रकरणमा भारत के भन्छ?
दिल्लीमा रहँदा नेपाली टोलीले भारत सरकारका तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरलाई पनि भेट गरेको थियो। भेटमा कांग्रेस नेतृत्वको टोलीले आफ्नो सरकारका चासोका विषय उठान गरेको बताइएको छ। महाकाली नदीमा साउन दोस्रो साता तुइन काटिँदा एक नेपालीको मृत्यु भएको थियो। उक्त घटना छानबिन गर्न गठित समितिले पनि भारतीय सुरक्षा बलले तुइन काटेको संकेत गरेको छ। सोहीअनुसार परराष्ट्र मन्त्रालयले भारतलाई यस विषयमा कूटनीतिक नोट पठाएको छ। भारतले भने उक्त कूटनीतिक नोटको जवाफ दिएको छैन।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्