साफ च्याम्पियनशिप फाइनलः आफूमाथि प्रतिबन्ध लागेपछि प्रशिक्षक अल्मुताइरी आक्रोशित – Janadesh Daily | ePaper

साफ च्याम्पियनशिप फाइनलः आफूमाथि प्रतिबन्ध लागेपछि प्रशिक्षक अल्मुताइरी आक्रोशित


भारतविरुद्धको फाइनलमा आफूलाई रोक लगाईएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसियाली फुटबल फेडेरेसन साफको आलोचना गरेका छन् ।

साफ च्याम्पियनसिप २०२१ को फाइनलमा साफले उनलाई टेक्निकल एरियामा प्रवेश गर्न रोक लगाउने निर्णय गरेपछि अलमुताइरी अक्रोशित देखिए । प्रतिबन्धपछि अलमुताइरीले बेन्च र टोलीको ड्रेसिङ रुममा जान पाउने छैनन् ।

प्रतियोगिताको लिग चरणका खेलका क्रममा अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएका थिए । त्यसकै आधारमा साफले उनलाई फाइनलमा टेक्निकल एरिया प्रवेश गर्न नदिने भनेको छ । यो बिषयमा साफले शुक्रबार नेपाल टिमलाई पत्र पठाएको थियो ।

अलमुताइरीको प्रतिबन्धका बिषयमा अखिल नेपाल फुटबल संघ एन्फाले साफलाई पत्राचार समेत गरिसकेको जनाएको छ । एन्फाका अनुसार साफले आफ्नै नियमावली अनुसार पनि अलमुताइरीलाई प्रतिवन्ध लगाउन पाउँदैन । एएफसीको अनुशासन नियमावलीमा प्रतियोगिताका दौरान दुई खेलमा पहेंलो कार्ड पाउँदा अर्को खेल गुमाउने उल्लेख भए पनि साफको नियमावलीमा भने त्यो छैन । अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।

अलमुताइरीले टेक्निकल एरिया गुमाएपछि अब नेपाली एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ हुनेछन् ।

यस्तै नेपालका फरवार्ड अन्जन विष्टले समेत आजको खेल गुमाउनेछन् । उनले दोहोरो पहेंलो कार्डका कारण फाइनल गुमाउने भएका छन् । भारतका प्रशिक्षक इगोर स्टिमाचलाई पनि साफले प्रतिबन्ध लगाएको छ । उनले अन्तिम खेलमा दुई पहेंलो अर्थात एक रातोकार्ड बराबर मानिने सजाय सामना गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्