साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारतसँग भिड्दा कहाँ चुक्यो टिम ! – Janadesh Daily | ePaper

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारतसँग भिड्दा कहाँ चुक्यो टिम !


जनादेश स्पोर्ट्स वाच ।

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा हुन नसकेको हो।

शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले आठौं पटक उपाधि जित्यो।

भारतले आठौं पटक उपाधि जित्ने क्रममा तीनै गोल दोस्रो हाफमा गर्‍यो। दोस्रो हाफमा भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो।

खेलको ४९ मिनेटमा भारतका लागि कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरे। उनले प्रितम कोटलको क्रसमा हेडमार्फत गोल गरे। सुनीलले साफ च्याम्पियनसिप २०२१ मा पाँच गोल गर्न सफल भए।

५० मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो। सुरेश सिंहले भारतका लागि गोल गरे। मोहमद यासिरले उपलब्ध गराएको पासमा सुरेशले गोल गरे।

भातरका लागि तेस्रो गोल अब्दुल समादले गरे। उनले दोस्रो हाफको इन्जुरी टाइममा रहिम अलीको पासमा गोल गर्दै भारतको जित पक्का गरेका थिए।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो।

नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।

साफको उपाधि भिडन्तमा पराजित भएसँगै नेपालले भारतविरुद्ध लगातार नौं खेलसम्म जित निकाल्न सकेन।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।

भारतको दबदबा
सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १३ संस्करण सम्पन्न भइसकेका छन्। १३ संस्करणमध्ये भारतले ८ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।

सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो। नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। प्रत्येक संस्करणको साफमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन। साफको इतिहास हेर्ने हो भने भुटान र पाकिस्तान पछिको कमजोर टिम नेपाल हो।

किनभने नेपाल १३ संस्करणमा एक पटक उपविजेता (२०२१) एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको छ।

अन्तिममा चुक
यो पटक साफको उपाधि दावेदारको रुपमा हेरिएको नेपालले पहिलो पटक फाइनलमा पुगेर किर्तिमान भने कायम गरेको छ। किनकी साफको ३० वर्षे इतिहासमा नेपाली टोली अहिलेसम्म साफको फाइनलमा पुग्न सकेको थिएन।

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले तथा दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। लिग चरणको तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएको नेपालले अन्तिम खेलमा बगंलादेशलाई एक एक गोलको बराबरीमा रोक्दै उपाधि नजिक पुगेको थियो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्