३१ लाख पार्टी सदस्य बनाउने माओवादीको महत्वाकाँक्षा, पूरा होला त प्रचण्डको सपना ! – Janadesh Daily | ePaper

३१ लाख पार्टी सदस्य बनाउने माओवादीको महत्वाकाँक्षा, पूरा होला त प्रचण्डको सपना !


जनादेश वाच ।

माओवादी केन्द्रले झन्डै ३१ लाख पार्टी सदस्य बनाउने महत्त्वाकांक्षी सांगठनिक योजना अगाडि सारेको छ। एमालेसँगको एकता तोडिएपछि माओवादीले गत निर्वाचनमा पार्टीले पाएको मतभन्दा १८ लाख बढी सदस्य बनाउने महत्वाकाँक्षा सार्वजनिक गरेको हो । गत निर्वाचनमा माओवादीले १३ लाख मत पाएको थियो तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब पार्टीका सदस्य नै ३१ लाख पुर्‍याउने प्रयासमा छन् ।

असोज ६, ११, १२ र १३ मा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुदृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख छ । माओवादीको संगठन विभागले तयार पारेको महत्त्वाकांक्षी योजना स्थायी कमिटीले अनुमोदन गरिसकेको छ ।

एमाले र कांग्रेसका भन्दा धेरै सदस्य बनाउने माओवादीको तयारी छ । नेताहरूको दाबीअनुसार एमालेको ५ लाख संगठित सदस्य र कांग्रेसका ९ लाख क्रियाशील सदस्य छन्। पुसमा हुने राष्ट्रिय सम्मेलन र आगामी तीनै तहको चुनाव केन्द्रित गरी संगठनात्मक योजना बनाइएको हो। स्थायी समिति सदस्य गणेश शाहले ३१ लाख सदस्य बनाउन नेतृत्व तहबाट काम गर्नुपर्ने बताए । ‘यो लक्ष्य प्राप्त गर्न नेतृत्व तहबाटै कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।

कति छ माओवादीको जनमत र जनशक्ति !
माओवादीले ०७४ र ०७० मा तेस्रो शक्ति बनेको क्रमश १३ लाख ३ हजार ७ सय २१ र १६ लाख ९ हजार १४५ मत पाएको थियो । ०६४ को संविधानसभामा पहिलो दल बनेको माओवादीले त्यसबेला ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । जबकि ०७० को निर्वाचनभन्दा ०७४ को निर्वाचनमा माओवादीको ३ लाख मत घटेको थियो । आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको मुख्य शक्ति दाबी गर्ने माओवादी केन्द्रले संगठनात्मक यथास्थितिवादसँग सम्बन्धविच्छेद गर्दै क्रान्तिकारी रूपान्तरण एवं पुनर्गठनको दिशामा फड्को मार्नुपर्ने अहिलेको आवश्यकता रहेको जनाएको छ ।

माओवादीको योजनाअनुसार औसतमा प्रत्येक निर्वाचन क्षेत्रमा १८ हजार ७ सय ५२ जना सदस्य हुनेछन् । देशभर १ सय ६५ संघीय निर्वाचन क्षेत्र छन् । त्यसबाहेक औसतमा हरेक पालिकामा माओवादीका ४ हजार १ सय १४ सदस्य रहने छन् । देशभर ७ सय ५३ पालिका छन् । यही अनुपातमा हेर्दा सातै प्रदेशमा औसतमा ४ लाख ४२ हजार सदस्य बनाउने माओवादी लक्ष्य छ ।

संगठन विभागको प्रस्तावअनुसार औसतमा हरेक जिल्लामा ४० हजार सदस्य रहनेछन् । देशभर ६ हजार ७ सय ४३ वडा छन्, जहाँ औसतमा माओवादीले ४ सय ५८ पार्टी सदस्य बनाउने लक्ष्य राखेको छ । जनसंख्या धेरै भएका जिल्लाअनुसार पार्टी सदस्य रहने माओवादी केन्द्रका नेताहरूको भनाइ छ । एक वडामा कम्तीमा तीनवटा टोल समिति गठन गर्ने तथा एक टोलमा तीन सेल गठन गर्ने माओवादी योजना छ । एक सेलमा तीनदेखि १५ संगठित सदस्य रहने परिपत्रमा छ । पार्टी सेल सबैभन्दा तल्लो कमिटी हो । माओवादीले केन्द्रीय संगठन विभागको काम अघि बढाउन प्रवास समितिबाहेक अन्य सबै प्रदेश समितिका इन्चार्जलाई संगठन विभाग सदस्य पनि बनाएको छ ।

माओवादी केन्द्रले पुस ११–१३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । त्यसअगाडि असोज मसान्तसम्म सदस्यता नवीकरण सकेर कात्तिक ६ मा टोल सम्मेलन, १३ मा वडा सम्मेलन र मंसिर ४ मा पालिका सम्मेलन गर्ने योजना छ । मंसिर १५ मा प्रदेश सम्मेलनको कार्यक्रम राखिएको छ । सबै कमिटीमा चुस्त र निर्वाचित कमिटी बनाउने दाबी छ । अस्तव्यस्त पार्टी संगठनलाई व्यवस्थित बनाउन भन्दै माओवादी केन्द्रले अन्तरिम विधान पनि बनाएको छ । अन्तरिम विधान–२०७३ को प्रथम संशोधन २०७८ ले पार्टीको विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायहरूको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ ।

अन्तरिम विधानले तलैदेखि माथिसम्मका कमिटीको आकार तय गरेको छ । अन्तरिम विधानमा माओवादी राष्ट्रिय महाधिवेशनसम्मका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एक तिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरेको छ ।

अन्तरिम विधानअनुसार माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा १ सय ७५ सदस्य रहनेछन् भने प्रदेश परिषद्मा प्रदेश समितिका पदाधिकारी र सदस्यहरूदेखि नगर/गाउँपालिकाका प्रमुखहरूसमेत समेटिने छन् ।

स्थानीय समितिको सदस्य संख्या पनि विधानमा किटान गरिएको छ । जसअनुसार महानगर समिति ९९, उपमहानगर समिति ८१, नगर समिति ६५, गाउँ समिति, शाखा समिति, सम्पर्क समन्वय जिल्ला समिति ५५, महानगरका वडा समिति ४५, उपमहानगरका वडा समिति ३५, नगर र गाउँका वडा समिति, उपशाखा समिति, पालिका सम्पर्क समन्वय समिति २९, टोल समिति, इकाइ समिति, वडा सम्पर्क समन्वय समिति १९ र पार्टी सेल, १५ सदस्यीय हुनेछ ।

प्रचण्डको ६४ साल सपना
प्रचण्डले केही समयअघि काभ्रे गएको बेला आगामी चुनावमा माओवादीका ४५ लाख मतदाता तयार पार्ने र ६४ सालको चुनाव दोहोर्याउने योजना पनि सुनाएका थिए ।

‘हामी अब समाजवाद निर्माणको महान अभियान चलाउने हो । आजका दिनसम्म आइपुग्दा त ४५ वटा पार्टी हामीसँग एकतावद्ध भएका रहेछन् । अब उनीहरु सबैका समर्थकलाई समेट्नेछौं । प्रत्येक वडामा समर्थकहरु बनाउनुपर्यो । एउटा वडामा सय देखि २ सयसम्म मान्छेको समर्थन गर्ने समिति बनाइन्छ । त्यसो गर्दा देशैभरि १५ लाख मान्छे संगठित हुँदा रहेछन् । त्यो २ सयलाई २-२ जना भोट तयार पार भनेमा ३० लाख भोटर भइहाले । ३-३ जना भनियो भने ४५ लाख हुन्छन् । अनि फर्स्ट पार्टी बन्न कसैले रोक्न सक्छ त ?’ प्रचण्डले भाषणमा भनेका थिए । तर प्रचण्डको सपना पूरा हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्