जनादेश वेदर डेस्क ।
शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो ।
आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूला पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने सोमवार ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । पानी पर्न सुरु भएसँगै गर्मीको महसुस बिस्तारै कम भएको छ ।
यसैबीच बाढी सूचना केन्द्रले विशेष बुलेटिन निकालेर मध्य र सुदूरपश्चिका नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ । केन्द्रले महाकाली, सेती, भेरी, मध्यपहाडका चुरे र तराई भएर बग्ने साना नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन भनेको छ ।
यस्तै कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई लगायतका नदीमा आकस्मिक बहावको जोखिम रहेकाले कात्तिक ३ गतेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।