के कारणले भैरहेको छ बाढी ल्याउने गरी वेमौसमी वर्षा, कहिलेसम्म यस्तो ? यसो भन्छन् मौसमविद् – Janadesh Daily | ePaper

के कारणले भैरहेको छ बाढी ल्याउने गरी वेमौसमी वर्षा, कहिलेसम्म यस्तो ? यसो भन्छन् मौसमविद्


जनादेश वेदर वाच ।

देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने विभागको प्रक्षेपण छ । साथै प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार भोलि बुधबार पनि देशभर पानी पर्नेछ । बिहीबारदेखि मौसम सफा रहनेछ । विभागले देशभर वर्षा र हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बाढीको जोखिम
डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदी अन्तर्गत पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, प्युठान, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र म्याग्दीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ । भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

किन भैरहेको छ वेमौसमी वर्षा, के सामान्य कुरा हो ?
मौसम विभागकाअनुसार हाल बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण आइतबारदेखि नेपालमा वर्षा भइरहेको छ ।

मौसमविद्‌ मञ्जु बासीका अनुसार यो वर्ष पूर्वानुमानभन्दा केही दिन ढिलो गरी अक्टोबर ८ तारिखमा नेपालबाट मनसुन बाहिरिएको छ। “अक्टोबर र नोभेम्बरलाई हामी पोस्ट-मनसुन भन्छौँ। यो बेला बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्दा त्यहाँबाट जलवाष्पयुक्त हावा नेपालमा छिर्दा वर्षा हुने गर्छ,” उनले थपिन्।

कहिले सुध्रिन्छ मौसम ?
पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । शनिवार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको बर्षाले जनजीवन प्रभावित भएको छ । आवतजावतमा समस्या भएको छ । दशैँमा घर गएकाहरुले कार्यक्षेत्रमा फर्किदा सडकको हिलो र पहिरोले हैरानी बेहोर्नुपरेको बताएका छन् । मनसुन पछि हुने वर्षाले धेरै क्षति गर्ने भएकोले सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताए । सात वर्षअघि अर्थात्‌ सन् २०१४ को अक्टोबर महिनामै अन्नपूर्ण क्षेत्रको थोराङ्ला भन्ज्याङ क्षेत्रमा हिमपातका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएको थियो। मौसमविद्‌हरूका अनुसार त्यस बेला अन्डमान सागरबाट सुरु भएको हुदहुद आँधीले नेपालका हिमाली क्षेत्रमा हिमपात गराएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्