किन भैरहेको छ विनाशकारी वेमौसमी वर्षा, आज पनि यी ठाउँमा हाँडीघोप्टे वर्षाको खतरा – Janadesh Daily | ePaper

किन भैरहेको छ विनाशकारी वेमौसमी वर्षा, आज पनि यी ठाउँमा हाँडीघोप्टे वर्षाको खतरा


जनादेश वेदर वाच ।

नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ ।

खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उको भनाइ छ । बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ । यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो ।

दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ ।

आज पनि हाँडीघोप्टे वर्षाको खतरा, ४ वटा प्रदेशमा जोखिम
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा हाँडीघोप्टे वर्षा हुन सक्ने जनाएको छ। मंगलबार दिउँसोसम्म सुदूरपश्चिम र प्रदेश १ मा पनि जनजीवन प्रभावित गर्ने गरी वर्षा भएको थियो। यी क्षेत्रमा बुधबारसम्म सोही प्रणाली रहने छ।

पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ। महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिममा मंगलबार दिउँसो ३ बजेसम्म पनि भारी वर्षा भएको थियो।

शाक्यले भनिन्, ‘बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिन्छ।’ जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलका अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले ठूलो खालको वर्षा निम्त्याएको हो। अधिकांश घटना हेर्दा यी दुइटा सिस्टम मिसिएपछि अलि गम्भीर खालको वर्षा निम्त्याउने गरेको बताइन्।

विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश १ का केही र प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा केहीदिनदेखि वर्षा भइरहेको छ । वर्षा र हिमपात हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्