मौसममा सुधारः अबको सम्भावना के छ? यस्तो छ मौसमविद्को भविष्यवाणी – Janadesh Daily | ePaper

मौसममा सुधारः अबको सम्भावना के छ? यस्तो छ मौसमविद्को भविष्यवाणी


जनादेश वेदर अपेडेट ।

भारी वर्षा गराउने मौसमी प्रणाली बाहिरिएसँगै मौसममा सुधार आउन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् वरुण पौडेलका अनुसार गएको आइतबारदेखि देशका विभिन्न क्षेत्रमा सक्रिय रहेको झरी तथा भारी वर्षा गराउने मौसमी प्रणाली बुधबार राति बाहिरिएको हो।

‘भारी वा झरी पार्ने मौसमी प्रणाली रातिदेखि बाहिरिएको छ। अब ठूलो र लगातार पानी पर्दैन अर्को ठूलो मौसमी प्रणाली नभित्रिएसम्म’, उनले भने, ‘तत्काललाई ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना पनि देखिएको छैन।’

उनका अनुसार ठूलो पानी पर्ने न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रणालीको संयुक्त प्रभाव हटेको हो। ‘तर त्यो प्रणालीले छोडेर गएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न स्थानमा बदली र छिटफुटदेखि हल्का पानी भने पर्न सक्छ। आत्तिनु भने पर्दैन’, मौसमविद् पौडेलले थपे, ‘अब जनजीवन क्रमिक रुपमा सामान्य हुने गरी मौसममा सुधार आउने देखिन्छ।’

लगातारको भारी वर्षाका कारण विशेष गरी कर्णाली र सुदूर पश्चिममा भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति भएको छ। ‘बिहीबारदेखि किसानहरुले पनि केही राहत महसुस गर्न पाउनु हुनेछ’, उनले भने, ‘हल्का पानी परे पनि झरी पर्दैन। घाम लाग्नेछ।’

अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभावमात्रै नेपालमा रहेको उनले बताए।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्