ओलीलाई बाबुरामको व्यङ्गात्मक झटारोः यी हुन् ‌ओलीले गिनिज बुकमा लेख्ने गरी गरेका ५ काम – Janadesh Daily | ePaper

ओलीलाई बाबुरामको व्यङ्गात्मक झटारोः यी हुन् ‌ओलीले गिनिज बुकमा लेख्ने गरी गरेका ५ काम


जनादेश वाच ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यंग्यका पात्र बनेका छन् ।

ओलीको यो भनाइ आएपछि अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराईले गिनिज बुकमा लेखाउन लायक ओलीले गरेका कामको सूची तयार पारेका छन् । उनले ट्वीट गर्दै सूची सार्वजनिक गरेका छन् ।

उनले दुई पटक संसद् विघटन, दुई तिहाइको सरकार ढल्नु, ६ वटा प्रदेशमा सरकार नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेडर्क राख्न लायक काम भन्दै व्यंग्य गरेका छन् ।

डा. भट्टराईले ‘ओलीको गिनिज बुक रेकर्ड’ शीर्षकमा ओलीले गरेका ५ काम देखाएका छन्।

ती हुन् :

१. दुईदुईपटक असंवैधानिक ढंगले संसद् विघटन र अदालतबाट पुनर्स्थापना

२. संघमा दुईतिहाइ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा

३.सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौं कानेखुसी

४. मुखमा कम्युनिस्ट, मनमा ठोरीवाला राम!

५. हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिङ्गाल सेना!

बाबुरामले लेखेका छन्, ‘ओलीको गिनिज बुक रेकर्ड= १ २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना २ संघमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३ सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी, ४ मुखमा कम्युनिष्ट मनमा ठोरीवाला रामस, ५ हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना !’

गत बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विश्वमै रेकर्ड राख्ने काम गरेको र ती सबै लेख्ने हो भने आधा गिनिज बुक आफूहरूकै कामले भरिने भाषण गरेका थिए।

यस क्रममा उनले दुईदुईवटा मिर्गौला फेरेर पनि प्रधानमन्त्री बनेको व्यक्ति (आफू) नेपालमा मात्रै होला पनि भनेका थिए। अर्थात् यो पनि गिनिज बुकमा लेख्ने एउटा काम भएको उनले दाबी गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्