काठमाडौंमा अब अफगानी शरणार्थी, गृहमन्त्रालयको सतर्कता सूचना, डरलाग्दो अन्तर्राष्ट्रिय रिपोर्ट ! – Janadesh Daily | ePaper

काठमाडौंमा अब अफगानी शरणार्थी, गृहमन्त्रालयको सतर्कता सूचना, डरलाग्दो अन्तर्राष्ट्रिय रिपोर्ट !


जनादेश वाच ।
काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताए । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ ।

उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका ७ अफगान नागरिक सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका थिए। अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो।

कुनै पनि मुलुकबाट प्रवेशाज्ञा नलिएकाहरूले वैधानिक रूपमा नेपाल प्रवेश पाउँदैनन् । तर भैरहवा हुँदै भित्रिएका अफगान नागरिकका बारेमा न सीमा क्षेत्रको सुरक्षा संयन्त्रले थाहा पायो, न त काठमाडौं आउन्जेलमा सरकारले । सजिलै नेपाल भित्रिएर राजधानी नै आइपुगेका उनीहरू सुरक्षित बस्न पाएका छन् । राष्ट्रसंघको नेपालस्थित शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालयले उनीहरूका लागि आवश्यक कागजात र बसोबासको प्रबन्ध गरिदिइसकेको छ ।

अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।

गृह मन्त्रालयको सतर्कता
विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको हो ।

गृहले परिचयपत्र नभएकालाई काममा नलगाउन पनि आग्रह गरेको छ । साथै पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि भनिएको छ । “पछिल्ला केही दिनका घट्नाहरूबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

के छ अफगानिस्तानको अवस्था
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

आधा भन्दा धेरै जनसंख्या झण्डै दुई करोड २८ लाख मानिसहरू तीव्र खाद्य असुरक्षाको सामना गर्ने र पाँच वर्ष भन्दा मूनिका ३२ लाख बालबालिकाहरू तीव्र कुपोषणबाट ग्रसित हुन सक्ने डब्ल्यूएफपीले बताएको छ ।

“अफगानिस्तान अहिले विश्वका सबैभन्दा खराब मानवीय संकटमा परेको छ,” डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बीज्लीले भने, “हामी विपत्तिको काउन्टडाउनमा छौँ ।”

अमेरिकाले आफनो फौज फिर्ता गरेपछि गएको अगस्टमा तालिबानको अफगानिस्तानलाई आफ्नो हातमा लिएको थियो । विदेशी सहयोगमा निर्भर अफगानिस्तानको पहिलेदेखि नै नाजुक रहेको अर्थतन्त्र तालिबानले कब्जा गरेपछि झनै कमजोर बन्यो ।

विश्व बैंककाअनुसार कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १० प्रतिशत भन्दा बढी विदेशी सहयोगबाट आउने मुलुकलाई सहायता–निर्भर राष्ट्रको रूपमा लिइन्छ । अफगानिस्तानको सन्दर्भमा जीडीपीको ४० प्रतिशत वैदेशिक सहायता थियो ।

धेरै अफगान नागरिकले खानका लागि आफ्नो सम्पत्ति बेच्दैछन् । नयाँ तालिबान प्रशासनको विदेशमा भएको सम्पत्ति रोक्का गरिएको छ । यसको अर्थ सरकारी कर्मचारी र अन्य कामदारको ज्याला/तलब रोकिएको छ ।

“मैले तलब नपाएको पाँच महिनाभन्दा बढी भइसक्यो,” हेरातका एक शिक्षकले भने, “जीवन कठिन छ । मैले हाम्रो घरमा जे छ त्यही बेचिरहेको छु । हामीले हाम्रो पशुचौपायहरू, रूख काटेर दाउरा बेचिरहेका छौँ ।”

“यहाँ मानिसहरू घरबारविहीन भएका छन्,” कान्दाहारका एक पुरुषले भने, “हिजो मैले एक महिलाले स्थानीय होटेलको फोहोर राख्ने डब्बाबाट बचेखुचेका खाना संकलन गरिरहेको देखेँ । मैले उनलाई किन त्यसो गरिरहेको भनी सोध्दा उनले आफूसँग अन्य समाधान नभएको बताइन्, उनले आफ्नो बालबच्चाको लागि खाना खोजिरहेकी थिइन् ।”

डब्ल्यूएफपीले वैदेशिक सहायतामा निर्भर अफगान नागरिकलाई जाडोले झनै खतरा उत्पन्न गराउन सक्ने चेतावनी दिएको छ । र पहिलो पटक अफगानिस्तानको सहरी क्षेत्रका मानिसहरू पनि ग्रामीण क्षेत्रका मानिसहरूकै दरमा खाद्य असुरक्षाबाट ग्रसित भएका उसले बताएको छ ।

जाडोले अफगानिस्तानको ठूलो भागलाई छुट्याउनुअघि नै सहायता वितरण गर्न कुशलतापूर्वक र प्रभावकारी रूपमा अत्यावश्यक काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका निर्देशक क्यु डोङयुले बताए ।

गएको सेप्टेम्बरमा केवल पाँच प्रतिशत अफगान परिवारसँग मात्रै दैनिक खानका लागि पर्याप्त खाना रहेको चेतावनी दिएको थियो । खाने तेल र गहुँ लगायतका आधारभूत सामग्रीहरूको मूल्य आकाशिएको छ । अक्टोबरमा संगठनले तत्काल जीवनरक्षक उपचारको अभावमा १० लाख बालबालिकाको गम्भीर कूपोषणबाट ज्यान जाने जोखिम रहेको चेतावनी दिएको थियो ।

डब्ल्यूएफपीले सोमबार दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यक्रमसँग एक तिहाइ कोष मात्र बाँकी छ । अहिले भइरहेको वित्तीय प्रतिबद्धताहरूलाई ‘समुन्द्रको एक थोपा’ भन्दै यो काम गर्न प्रतिमहिना झण्डै २२० मिलियन डलर लाग्ने संगठनले बताएको छ ।

अफगानिस्तानको खाद्यान्न संकटलाई पानीको अभाव र चार वर्षमा दुईपटक भएको अत्यन्तै खराब खडेरीले झनै बढाएको छ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्