सामाजिक सञ्जाल फेसबुकले फेर्‍यो कर्पोरेट नाम, यस्तो छ रिब्राण्डिङका लागि राखिएको नयाँ नाम – Janadesh Daily | ePaper

सामाजिक सञ्जाल फेसबुकले फेर्‍यो कर्पोरेट नाम, यस्तो छ रिब्राण्डिङका लागि राखिएको नयाँ नाम


जनादेश टेक वाच ।

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गरेको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

अक्टोबर २८ अर्थात विहीबार आयोजित फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले फेसबुकको नयाँ कम्पनी नाम ‘मेटा’ हुने घोषणा गरेका हुन् । योसँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिचेको छ ।

यस पश्चात् मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै सोसल साइट फेसबुकको एप पनि रहनेछ । पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको थियो ।

साथै फेसबुकले आफुलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको देखिएको छ । तर यसरी नाम परिवर्तन गर्दैमा हामीले चलाउने फेसबुक, ह्वाट्सएप वा इन्स्टाग्रामको नाम भने फेरिने छैन ।

फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ । फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीका प्रवक्ताले बताए ।

फेसबुक मेटाभर्समा पनि प्रयोगकर्ताको ध्यान केन्द्रित गर्न चाहन्छ । सामान्य हिसाबमा बुझ्दा मेटाभर्स भन्नाले भर्चुअल रियालिटी (भीआर) को विस्तारीत रूप हो । हाल भीआर गेमिङहरूको लागि मात्र प्रयोग हुने गरेको छ । तर अब भीआरमार्फत हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्ने छन्।

त्यस्तै फेसबुकले ध्यान केन्द्रीत गर्न चाहेको मेटाभर्समार्फत पनि प्रयोगकर्ताले काम गर्न, खेल्न, कन्सर्ट गर्न, सिनेमा हेर्न लगायतका कामहरू गर्न सक्छन् ।

स्मरण रहोस् आफ्नो कम्पनी नाम परिवर्तन गर्ने फेसबुक मात्र पहिलो कम्पनी चाहीँ होइन । गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफुलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो ।

फेसबुकले गरेको परिवर्तनबारे बुझ्नु पर्ने ४ तथ्य

#हामीले चलाउँदै आएको फेसबुकको नाम पनि परिवर्तन हुन्छ?
हुँदैन। जुकरबर्गले कार्यक्रममा भनेका छन्, ‘हाम्रो एप्स र ब्रान्ड परिवर्तन हुनेछैनन्।’ तर कम्पनीको नाम भने फेसबुकबाट मेटा हुनेछ। यो कम्पनीको स्वामित्वमा फेसबुक, मेसेन्जर, ह्वाटसएप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरु छन्। ती सबैको नाम यथावत रहनेछ।

#के चाहिँ परिवर्तन हुन्छ त?
कम्पनीको नाम। पहिले कम्पनीको नाम फेसबुक थियो भने अब ‘मेटा’ रहनेछ। सेयर बजारमा कम्पनीको नाम पनि फेसबुकको FB बाट परिवर्तन भएर MVRS हुनेछ डिसेम्बर १ देखि। यसका लागि मेटा डट कम पनि जुकरबर्गले लिइसकेका छन्।

#किन गरियो परिवर्तन?
कनेक्ट इभेन्टमा जुकरबर्गले बताए अनुसार फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गरेन। कम्पनीको नाम एउटा प्रडक्टमा मात्र जोडियो। त्यही भएर नाम परिवर्तन गर्नुपरेको हो।

फेसबुकले सामाजिक सञ्जालका अतिरिक्त अरु क्षेत्रमा पनि काम गर्ने महत्त्वाकांक्षका बीच यो नाम परिवर्तन गरेको हो। अहिले फेसबुक मेटाभर्स प्रति बढी आकर्षित भएको छ। त्यही भएर उसले कम्पनीको नाम समेत यसैसित मिल्ने गरी मेटा राखेको छ।

उनले कार्यक्रममा भने पनि- अब हाम्रो पहिलो प्राथमिकता फेसबुक हैन, मेटाभर्स हुनेछ।

#के हो मेटाभर्स ?
मेटाभर्सलाई धेरैले इन्टरनेटको भविष्य हुने बताएका छन्। यो भर्चुअल रियालिटीको विकसित रुप हो। फेसबुकले भर्चुअल रियालिटी भेटघाट एप वर्कप्लेस र सामाजिक भेटघाट स्थल होराइजन्सलाई परीक्षण गरिरहेको छ जसमा व्यक्तिको भर्चुअल रूप प्रयोग हुन्छ। उदाहरणका लागि मेटाभर्स प्रविधिमा तपाईँ अनलाइनमा लुगा किनमेल गर्न भन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्