बाबुरामका बाबु-छोरीमाथि धावा बोल्दा ओलीलाई ब्याक फायर, मानुषीले दिइन् मुखभरीको जवाफ – Janadesh Daily | ePaper

बाबुरामका बाबु-छोरीमाथि धावा बोल्दा ओलीलाई ब्याक फायर, मानुषीले दिइन् मुखभरीको जवाफ


जनादेश वाच ।
आइतबार पार्टीको कर्णाली प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी छोरी मानुषीको नाम लिएर गम्भीर आरोप लगाएका थिए ।

झण्डै आधा घण्टा सम्बोधन गरेका ओलीले सुरुदेखि नै भ्रमपूर्ण चेतनाको विषय उठाएका थिए । आफ्नो नेतृत्वको सरकार र एमाले पार्टीविरुद्ध पनि भ्रमपूर्ण प्रचार भएको भन्दै ‘सोसल मिडिया वार’मा उत्रिन कार्यकर्तालाई आग्रह गरेका थिए । तर कार्यक्रममा बाबुराम र उनकी छोरी मानुषीको बारेमा दिएको अभिव्यक्तिका कारण विपक्षी दलका नेता समेत रहेका ओलीमाथि नै ‘भ्रमपूर्ण चेतना’ फैलाएको आरोप लाग्ने अवस्था बनेको छ ।

सम्बोधनको अन्त्यतिर एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईमाथि कटाक्ष गरेका थिए ।

भट्टराईले आफ्नो छोरीलाई बेलायतमा पढाएको भन्दै उनले एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीले कसरी पासपोर्ट बनाए, कसरी भिसा लगाए भनेर सोधेका थिए । उनले भट्टराईको नाम लिँदै सोधेका थिए, ‘बेलायतको शिक्षा, जहाँ कमसेकम २/४/५ लाख महिनाको खर्च हुन्छ, तपाईंले भूमिगत हिँड्दा छोराछोरी कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले ?’

बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताएका हुन् ।

भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिएकी छन् ।

मानुषीले त्यसको जवाफमा ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन सुझाएकी हुन् । ओलीले राजनीतिलाई नै मजाकको विषय बनाएको भन्दै प्रश्न गरेकी छन्, ‘राजनीतिलाई कतिन्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’

मानुषीले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला ।’ ओलीले लगाएको आरोपबारे उनले लेखेकी छन्, ‘स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौं ।’

नेपालमा भूमिगत नेताकी छोरी बेलायतमा कताबाट कमाएर पढाएको ? भनेर प्रश्न गरेका थिए । ओलीले आफूहरूले पासपोर्ट बनाउन नसक्ने र भीसा लगाउन नसक्ने अवस्थामा माओवादीका भूमिगत नेता भट्टराईका छोराछोरी बेलायत र युरोप गएको आरोप लगाएका थिए । यसको जवाफमा मानुषीले लेखेकी छन्, ‘हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौं भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला ।’

 

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्