भारतले न्यूजिल्याण्डसँग लियो विश्वकप हारको बदला, टी-२० श्रृंखलामा ‘क्लिन स्विप’ – Janadesh Daily | ePaper

भारतले न्यूजिल्याण्डसँग लियो विश्वकप हारको बदला, टी-२० श्रृंखलामा ‘क्लिन स्विप’


जनादेश वाच ।
भारतले न्यूजिल्यान्डविरुद्ध लगातार तेस्रो जित हात पार्दै इतिहास रचेको छ। भारतले टी-ट्वान्टी क्रिकेट सिरिजमाथि न्यूजिल्याण्डविरुद्ध ३-० को क्लिन स्विप गरेको हो। आज भएको अन्तिम सिरिजमा भारतले ७३ रनको फराकिलो जित निकाल्न सफल भयो।

कोलकताको इडेन गार्डेन क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले न्यूजिल्याण्डलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो। यस क्रममा उसले ७ विकेटको क्षतिमा पूरै ओभर खेलेको थियो। भारतका लाागि यसै सिरिजबाट टी-ट्वान्टी कप्तान बनेका रोहित शर्माले सर्वाधिक ५६ रन बनाए भने इसन किसनले २९ रन जोडे।

सूर्यकुमार यादव ४ बल खेल्दै शून्य रनमा पेभेलियन फर्के पनि श्रेयस ऐर बेंकेटस ऐरेले क्रमशः २५ र २० रन बनाए। हर्षल पटेलले १८ रन बनाए भने दीपक चहर २१ रनमा नटआउट रहे।

भारतले दिएको सम्मानजनक लक्ष्य पछ्याएको न्यूजिल्याण्ड भने १७ दशमलव २ ओभरमै अलआउट भयो। मार्टिन गुप्तिलले ३६ बलमा अर्धशतक पूरा गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। न्यूजिल्याण्डका मार्क चापमान र ग्लेक्स फिलिक्स शून्य रनमै आउट भए।

तीन ओभर खेलेका भारतका अक्षर पटेलले मात्र नौ रन दिएर तीन विकेट लिन सफल भए। उनी खेलको प्लेयर अफ द म्याच घोषित भए। त्यस्तै हर्षल पटेलले तीन ओभरमा २६ रन दिँदै २ विकेट लिए।

भारतले यसअघि सिरिजकै दोस्रो खेलमा पाँच र पहिलो खेलमा नौ विकेटको फराकिलो जित निकालेको थियो। भारतले न्यूजिल्याण्डसँग यसअघि टी-ट्वान्टी विश्वकपको सुपर १२ मा भएको खेलमा ८ विकेटको पराजयको बदलासमेत लिएको छ।

न्यूजिल्याण्डविरुद्ध पहिलो पटक ‘क्लिन स्विप’

सन् २०१२ मा पहिलो पटक यी दुई देशबीच घरेलु सिरिज खेलिएको थियो। त्यतिबेला महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको भारतलाई न्यूजिल्याण्डले १-० ले हराएको थियो। यद्पि त्यसबेला दुई खेलको सिरिज थियो।

त्यस्तै सन् २०१७ को ३-० को सिरिजमा न्यूजिल्याण्डलाई भारतले २-१ ले हराएको थियो, जतिबेला भारतका कप्तान विराट कोहली थिए। उक्त सिरिज भारतले उचाले पनि न्यूजिल्याण्डमाथि भारतको यो पहिलो क्लिन स्विप हो।

पछिल्लो अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४५० छक्का पूरा गरेका भारतीय टी-२० कप्तान रोहित शर्मा आज फेरि ‘सिक्सर किङ’ बने। खेलमा ३ छक्का प्रहारसँगै रोहितले टी–२० मा आफ्नो १५० छक्का पूरा गरेका छन्।

यो कीर्तिमान बनाउने उनी विश्वकै दोस्रो र भारतका पहिलो ब्याट्सम्यान बनेका छन्। रोहितभन्दा अगाडि मार्टिन गुप्टिल (१६१) को नाम छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्