हिउँदको सुरुदेखि नै विश्वका प्रदूषित सहरमा परिरहेको छ काठमाडौं, जोखिम कति, कसरी जोगिने – Janadesh Daily | ePaper

हिउँदको सुरुदेखि नै विश्वका प्रदूषित सहरमा परिरहेको छ काठमाडौं, जोखिम कति, कसरी जोगिने


जनादेश वाच ।
यसवर्षको जाडोयाम सुरु हुँदै गर्दा वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था (आईक्यूएयर)को लाइभ अपडेटमा काठमाडौं विश्वकै आठौँ प्रदूषित सहरमा सूचीकृत भएको छ । अर्थात् जाडो बढ्दै जाँदा यो अवस्था अझै भयावह हुन सक्छ ।

सन् २०१५ मा प्रकाशित विश्व प्रदूषण सूचकाङ्कमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वकै तेस्रो प्रदूषित मुलुक र काठमाडौं एसियाको पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो ।

‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)को र्‍याङ्किङअनुसार वर्ष ०७६ फागुनमा विश्वका प्रदूषित देशको सूचीमा नेपाल आठौँ नम्बरमा र प्रदूषित सहरका हिसाबले काठमाडौं ५औँ नम्बरमा रहेको देखिएकोे थियो । सोही मापकमा वर्ष ०७७ पुसमा विश्वका ५० सहररूमध्ये वायु प्रदूषणका हिसाबले काठमाडौं पहिलोे प्रदूषित सहरको रूपमा सूचीकृत भएको थियो ।

भयानक अवस्था आएको छैन : वातावरण विभाग
वायु प्रदूषणका हिसाबले काठमाडौं विश्वको आठौँ प्रदूषित सहरमा परेको सूचकाङ्क सार्वजनिक भए पनि वातावरण विभागले स्थिति भयानक नभएको भन्दै नआत्तिन आग्रह गरेको छ । विभागको शनिबारको एयर क्वालिटी मनिटरिङ सूचकाङ्कले पीएम २.५ को मात्रा विराटनगरमा २०७, सिमरामा १९२, पोखरामा १८७, जनकपुरमा १५५, रत्नपाकर्मा १४७, कीर्तिपुरमा १८० र धनगढीमा ११४ सम्म पुगेको देखाएको छ । त्यस्तै यो मात्रा विराटनगर, सिमरा र धनकुटा १५० भन्दा बढी प्रतिघण्टा रहेको देखाएको छ । यो सूचकाङ्क १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।

काठमाडौंमा अन्य जाडोयामजस्तै प्रदूषणको मात्रा भने बढ्दै गएको तर अहिले नै खतराको तहमा भने नपुगेको विभागका उपमहानिर्देशक इन्दु बिक्रम जोशी बताउँछन् । “काठमाडौंका पाँच स्थानमा राखिएका पारामिटरबाट हामीले रियल टाइम अपडेट लिइरहेका छौँ । उपत्यका बाहिर पनि त्यस्तो खराब अवस्था छैन । विदेशी सूचकाङ्कको आधारमा हाम्रो अवस्थालाई विश्लेषण गर्नुले उति अर्थ राख्दैन । त्यसैले यही तथ्याङ्कलाई लिएर भयवित हुनपर्ने अवस्था छैन,” जोशीले भने ।

तर, वातावरणविद् मनिसराज पाण्डे भने अन्तर्राष्ट्रिय सूचकाङ्कहरूले देखाएको यो तथ्याङ्क नेपालका लागि शतर्क गराउने माध्यम भएको बताउँछन् । गर्त वर्ष देशका विभिन्न ठाउँमा भएका डढेलोका घटनाले नेपाल अति प्रदूषित मुलुकको सूचीमा परेको घटना बिर्सन नुहने र प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारले अझै मेहनत गर्नुपर्ने तर्क पाण्डेको छ ।

वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो त्यति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी हुने गरेको यसअघिको तथ्याङ्क छ । मंसिरबाट बढ्दै गएको प्रदूषणको मात्रा पुस र माघमा २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ । अहिलेको अवस्थालाई हेर्दा वर्षा नभएका कारण प्रदूषण बढेको हुनसक्ने र बढ्नसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

मौसमविद् समीर श्रेष्ठ प्रदेश १ मा छिटफुटबाहेक आगामी तीन दिनमा वर्षा हुने सम्भावना नरहेको बतउँछन् । “जाडो महिनामा ठूलो वर्षाको सम्भावना कम रहन्छ । त्यसैले पनि प्रदूषण बढेको देखिएको हुनसक्छ । तर, मौसममा त्यति ठूलो अदलबदल भने भएको छैन,” मौसमविद् श्रेष्ठले भने ।

प्रदूषणमा स्वास्थ्य जोगाऔँ
‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार एकसय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । प्रदूषित वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

वायु प्रदूषणले विशेषगरी श्वासश्वाससम्बन्धी समस्या, फोक्सो, मुटुको रोग निम्त्याउने गर्दछ । त्यसैगरी यो समयमा मर्निङ र इभिनिङ वाक गर्नुलाई पनि त्यति स्वस्थकर मानिँदैन । अहिले देखिएको प्रदूषलाई एन्टिअक्सिजन पोलुसन भनिएको छ, अर्थात् वातावरणमा अक्सिजनको मात्रा कम हुनु र अन्य दूषित ग्यासहरू हावी हुनु ।

एन्टिअक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ‘सी’ र ‘ई’ को मात्रालाई घटाइदिन्छ । यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ । त्यस्तै, अचानक हुने यस्तोखाले मौसम परिवर्तनलाई मानिसको छालाले तुरुत्तै पचाउन सक्दैन र एलर्जी, छाला सुख्खा हुँदै जाने डिहाइड्रेसन, एक्जिमाजस्ता समस्या देखा पर्नसक्छन् । त्यसैले पनि यो प्रदूषणको समयमा सकेसम्म बाहिर नहिँड्न तथा हिँड्नैपरे छालाको लागि विशेष सुरक्षा कवच अपनाउनु आवश्यक हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्