प्युठान कांग्रेसको महाधिवेशनमा रडाकोः मतगणना स्थलमा गोली चल्यो, १ प्रहरीसहित ९ जना घाइते – Janadesh Daily | ePaper

प्युठान कांग्रेसको महाधिवेशनमा रडाकोः मतगणना स्थलमा गोली चल्यो, १ प्रहरीसहित ९ जना घाइते


जनादेश अपडेट ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ। मतगणनाका क्रममा पौडेल-सिटौला पक्षका विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो।

मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो। मङ्‍गलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुग्याससमेत प्रहार गरेको खबर छ। झडपका क्रममा एक जना प्रहरीसहित नौ जना घाइते भएका छन्।

प्रहरी जवान गोपाल जीसी घाइते भएका छन्। त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा २३ वर्षीय चन्द्रबहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका-२ का २० वर्षीय कमल घर्ती, नौबहिनी-६ का २६ वर्षीया कुँवर पुन, २३ वर्षीय विनोद रिजाल र प्युठान नगरपालिका-७ का खेमराज पण्डित रहेका छन्। घाइतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ।

देउवा र पौडेल-सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो। झण्डै दुई घण्टा अघिदेखिको तनाव अझै साम्य भएको छैन। आक्रमणपछि मतगणना कार्य स्थगित भएको छ।

निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल-सिटौला पक्षबाट विष्णुकुमार गिरी मैदानमा छन्। यो समाचार तयार पार्दासम्म जिल्ला सभापति पदका लागि खसेको कूल एक हजार ६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन्। अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरी पक्षका कार्यकर्ता विजयी घोषणा गरी खुसी मनाइरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्