शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई त्याग्नु ठूलो गल्ती भयो : प्रभाकर – Janadesh Daily | ePaper

शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई त्याग्नु ठूलो गल्ती भयो : प्रभाकर


काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो ।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्‍यो । विद्यालय उद्योग हुनुपर्‍यो’, मन्त्री शर्माले भन्नुभयो, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्‍यो ।’ उहाँले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनुभयो । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्नुनुहुँदै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताउनुभयो । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उहाँले बताउनुभयो । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताउनुभएको छ । उहाँले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनुहुँदै सो धारणा राख्नुभएको हो । ‘अब ठुलो/मेगा विद्यालय बनाउनुपर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’ उहाँले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रिकृत गर्नुपर्ने बताउनुभएको हो । पछिल्लो समय केही स्थानबाहेक सडक पूर्वाधार विकास भएकाले त्यो सम्भव हुने उहाँको भनाइ छ ।

शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिनुभयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताउनुभयो । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताउनुभयो । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ’, उहाँले भन्नुभयो, ‘त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।’ प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रिकरण गरेको बताउनुहुँदै उहाँले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्