घनश्याम भुसालले ‘साइबर स्याल’ भन्ने समूह ‘साइबर सर्कल’मा परिणत, ओलीलाई प्रचण्डको डर – Janadesh Daily | ePaper

घनश्याम भुसालले ‘साइबर स्याल’ भन्ने समूह ‘साइबर सर्कल’मा परिणत, ओलीलाई प्रचण्डको डर


जनादेश वाच ।

साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होशियार रहन आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए। ओलीले अब कसैसँग एकता, एकीकरणको कुरा नहुने बताएका छन्। ओलीले एमालेले एकता र एकीकरण गर्नुपर्ने पार्टी कुनै नभएको बताएका हुन्।

‘कोसँग एकता गर्ने माधव नेपालसँग ?,’ उनले भने, ‘माधव नेपालले झुक्याएर लगेका साथीहरू निद्राबाट ब्युँझनुस्, फर्किनुस्।’

त्यस्तै उनले न्यायिक क्षेत्रमा भइरहेको विवादलाई ‘क्यान्सर’को संज्ञा दिँदै त्यसलाई जरैदेखि फ्याँक्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ। न्यायाधीश, बारले भनिरहेको छ। वरिष्ठ अधिवक्ता, कानून व्यवसायी, जनता छक्क परिरहेको छ।’

सामान्य रूपमा सर्वोच्च अदालतको विवाद साम्य नहुने बताउँदै उनले भने, ‘क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अण्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ? त्यो विचरा अण्डा मन्साएर, अण्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ। किमोको आवश्यकता छ। बिमार त्यो तहको छ।’

त्यस्तै पाँच दलको कारण सर्वोच्चमा विवाद जारी रहेको आरोप लगाए। उनले भने, ‘मेरो नेतृत्वको सरकारतिर फ्याँकिएको ब्रह्मास्त्र फर्किएर भएको हो। अहिले देशमा आन्दोलन छैन। सर्वोच्च अदालतको आँगनमा मात्रै आन्दोलन छ। जनता छक्क परिरहेको छ। यो पाँच दलको कानूनी क्षेत्रको प्रकटीकरण मात्रै हो।’

राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्‍चामाध्यामहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्। अध्यक्ष ओलीले भने, ‘नदेखिने गरी बाह्य लगानी सञ्चारको क्षेत्रमा? यो डरलाग्दो कुरा छ। सञ्चारको माध्यमबाट सूचना, सूचना प्रविधि, यो सबै कुरा हातमा लिने। र त्यसलाई प्रयोग गरेर गलत बाटोमा र लगानीकर्ताहरुको हितमा त्यसलाई प्रयोग गर्ने, दुरुपयोग गर्ने र राजनीतिलाई विकृत बनाउने, समाजको अग्रगमनलाई अवरोध खडा गर्ने, राष्ट्रिय एकतालाई कमजोर पार्ने, देशभित्र विभिन्न छिद्रहरु खोजेर त्यहाँ पहिलो धाँजा बनाउने अनि धाँजामा फेसा ठोकेर समाजलाई विभाजित गर्ने यस्ता प्रयासहरु भईरहेका छन्।’

घनश्यामले भनेका थिए- साइवर स्याल
एमाले नेता घनश्याम भुसालले ओलीसँग रहेको समूहलाई साइवर स्याल रहेको बताएका थिए । तत्कालीन नेकपा विवादका क्रममा घनश्यामले ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ बाँकी रहेको दाबी गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्