पुनर्गठन दिवसको नारा ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, प्रचण्डलाई पार्टीमा आउन आग्रह – Janadesh Daily | ePaper

पुनर्गठन दिवसको नारा ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, प्रचण्डलाई पार्टीमा आउन आग्रह


जनादेश वाच ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार आठौं पार्टी पुनर्स्थापना दिवस मनाएको छ । तत्कालीन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विभाजन भई विप्लवले आफनो नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा गठन गरेका थिए।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित आठौँ पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा र्‍यालीसहित सभामा विप्लवका कार्यकर्ताले चर्का नारा लगाएका थिए । चौतारा बजारको भिन्तुनाचोकबाट निकालिएको र्‍याली मुख्य बजार हुँदै टुंडिखेलमा पुगेर सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरूले ‘दलालहरु होसियार’, ‘एमसीसी मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, जस्ता नारा लगाएका थिए ।

उता विप्लवले माओवादी केन्द्र र पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकता हुन लागेको कुरा आत्मरतीमा रमाउन खोज्नेहरूले चलाएको हल्ला मात्रै भएको बताएका छन् । बरू उनले प्रचण्डलाई नै आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन् ।

‘पार्टी एकता भनेको नेताहरूको टाउको जोडिने मात्र होइन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो । कसैको पार्टी ठूलो बनाउन, सरकारमा पुर्‍याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता सम्भव छैन’ मगर मुक्तिमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बुधबार बेनी आएका चन्दले भने, ‘हामी पार्टी एकताको पक्षमा छौं । प्रचण्डजी तपाइँ जनयुद्धको कमाण्डर हुनुभो, अध्यक्ष हुनुभो, प्रधानमन्त्री बन्नुभो, सबै भोग्नुभो कतै सफल बन्नु भएन । अब हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं,’ नेता विप्लवले भने ।

यस्तै संसदीय दलहरू जनताको मतमा विश्वास नभएका कारण समानुपातिक प्रणालीको बाटोमा लागेर पैसा असुल्ने धन्धामा लागेको उनको आरोप थियो । उनले यसअघि पनि वर्तमान व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गर्दैआएका छन् ।

उनले भनेका छन्, ‘व्यवस्थापिका, कार्यपालिका र न्यायापालिका तीनै अङ्ग असफल भएसँगै संसदीय व्यवस्थाको औचित्य समाप्त भयो । जनताको मतमा विश्वास नभएपछि संसदीय दलका नेताहरू समानुपातिको बाटोबाट पैसा असुल गर्ने धन्दामा छन् । जनमत संग्रहबाट डराएका छन् । प्रत्यक्ष निर्वाचनबाट जनमत संग्रहको विकल्पको पनि प्रयोग गरौं ।’

विप्लव नेतृत्वको नेकपाले तत्कालीन ‘जनमुक्ति सेना’ स्थापना दिवसकै दिन २०७१ सालदेखि पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्