२ महाधिवेशनमा किङ मेकर बनेका बामदेव १० औं महाधिवेशनामा कता, यस्तो छ उनको तयारी – Janadesh Daily | ePaper

२ महाधिवेशनमा किङ मेकर बनेका बामदेव १० औं महाधिवेशनामा कता, यस्तो छ उनको तयारी


जनादेश वाच ।
एमालेको महाधिवेशनको कुरा गर्ने हो भने अघिल्ला दुई महाधिवेशनका किङमेकर नेता हुन्, वामदेव गौतम । उनको साथ लिएर आठौँ महाधिवेशनमा झलनाथ खनाल विजयी भए भने नवौँमा केपी ओलीलाई अध्यक्ष बनाउन गौतमको मुख्य भूमिका रह्यो । एमालेको आन्तरिक समीकरणमा प्रभावशाली उपस्थिति देखाउने गौतम १०औँ महाधिवेशनमा भने गुमनाम छन् ।

पार्टी उपाध्यक्षबाट राजीनामा दिएका गौतम र एमाले सांसद रहेकी उनकी पत्नी तुलसा थापा महाधिवेशनको यो चटारोमा कतै देखिएका छैनन् । गौतम दम्पति यतिखेर व्यस्त त छन् । तर, पारिवारिक काममा । उनीहरूको दौडधुप यतिबेला १३ मंसिरमा हुने कान्छी छोरी जिताको विवाहमा छ । उनी दन्त चिकित्सक हुन् ।

जिताकाे सचेन्द्र बस्नेतसँग विवाह हुँदैछ । रामेछापका सचेन्द्रकाे परिवार भक्तपुरकाे लाेकन्थलीमा बस्छ । जिता र सचेन्द्रकाे वैवाहिक समाराेह काठमाडाैं मूलपानीमा रहेकाे नर्लिङ रिसाेर्टमा हुने गाैतमकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

नेकपा एकीकृत समाजवादी (एस) मा जान गौतमले १८ भदौमा एमाले उपाध्यक्षबाट राजीनामा गरेका थिए । तर, समाजवादीले जनताकाे बहुदलीय समाजवाद (जबज) लाई पार्टीको मार्गदर्शन सिद्धान्त नबनाएपछि उनी रोकिए । एमालेले गौतमको राजीनामा स्वीकृत नगरे पनि उनी पार्टीमा फर्किने सम्भावना न्यून छ ।

कानुनतः एमालेकै सांसद रहे पनि गौतमपत्नी थापा विधान महाधिवेशनमा सहभागी भइनन् । ‘उहाँको पनि राजीनामा स्वीकृत भएन । म पनि अहिलेसम्म एमाले सांसद हुँ,’ थापाले भनिन्, ‘तर हामी पार्टीमा सक्रिय छैनौँ । महाधिवेशनमा जाने कुनै तयारी छैन ।’

नेकपा एकीकृत समाजवादीसँग सैद्धान्तिक विमति रहेपछि नेता गौतम छुट्टै पार्टी गठन गर्ने तयारीमा छन् । ‘एकीकृत समाजवादीले जबजलाई मार्गदर्शन सिद्धान्त नमान्ने भएपछि विमति जनाएर उहाँ रोकिनुभयो,’ लामो समय गौतमसँग काम गरेका नेता हरि पराजुलीले भने, ‘उहाँ नयाँ पार्टी बनाउने कसरतमा हुनुहुन्छ । अब बुढो भइयो । नयाँ पार्टी बनाएर चलाउन गाह्रो पर्छ । यतै आउनुस्, पार्टीको संरक्षक तहको वरिष्ठ नेता बन्नुस् । त्यसैमा सम्मान छ भनिरहेका छौँ ।’

गौतमले एमाले छाड्ने भएपछि उनीनिकट नेताहरू हतारहतार निर्वाचन आयोग पुगेर सनाखत गराएका थिए । गौतमपत्नी थापाले पनि निवेदन पठाएकी थिइन् । तर, ढिलो आएको भन्दै आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो । आफूनिकट सबै नेतालाई नेकपा एसमा पठाएपछि गौतमले एमाले उपाध्यक्षबाट राजीनामा गरेका थिए । तर, नयाँ पार्टीको दस्तावेजमा जबजलाई मार्गदर्शन सिद्धान्त नमानेपछि उनी रोकिएका हुन् ।

अघिल्ला महाधिवेशनमा वामदेवनिवासमा छुट्टै चहलपहल हुन्थ्यो । खासगरी २०५४ सालमा पार्टी विभाजनमा साथ दिएका देशभरका नेता-कार्यकर्ता र प्रतिनिधिले गौतमको निर्देशन पर्खिन्थे । आठौँ र नवौँ महाधिवेशनले किङमेकर बनाए पनि विगतमा साथ दिँदै आएका नेताहरू भने विस्तारै उनलाई छोड्दै गए । एमाले–नेकपा एस ध्रुबीकरणमा पनि गौतमलाई साथ दिन कोही रोकिएको देखिएन । त्यति हुँदाहुँदै पनि एमाले महाधिवेशनमा गौतमको अनुपस्थिति भने खड्किने देखिन्छ ।

‘हामीले अहिल्यै कुनै निर्णय गरिसकेका छैनौँ । छलफल परामर्श भइरहेका छन्,’ नेतृ तुलसा थापाले भनिन्, ‘ढिलोचाँडो एउटा टुंगोमा पुग्छौँ । त्यत्ति हो, यसपटकको महाधिवेशन छुट्ने भयो ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्