के छ एमाले महाधिवेशन स्थलको तयारीः यसरी हुँदै छ काम, स्टेज बनाउने लागत मात्र ४५ लाख – Janadesh Daily | ePaper

के छ एमाले महाधिवेशन स्थलको तयारीः यसरी हुँदै छ काम, स्टेज बनाउने लागत मात्र ४५ लाख


जनादेश वाच ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहलसमेत बढेको छ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेताहरु चितवन आउने क्रम जारी छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताइन्।

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ। मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको उनले बताइन्।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ। मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ। यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन्।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान साढे ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ। आज अध्यक्ष ओली सौराहामा हुने बुद्धिजीवी परिषद्को बैठकमा सहभागी हुनेछन्।

राजकुमारले बनाउँदैछन् स्टेज, लागत ४५ लाख

रौतहटका राजकुमार पटेल २०५८ सालदेखि स्टेज बनाउने काममा सक्रिय छन्। स्टेज डेकोरेसनमा २ दशकको अनुभव बाेकेका पटेलले नै एमालेको १० औँ महाधिवेशनको उद्घाटन मञ्च बनाउने जिम्मा पाएका छन् ।

पटेल तीनै व्यक्ति हुन् जसले २०६८ सालमा काठमाडौंमा ख्याति प्राप्त गायक ब्रायन एडम्सको कन्सर्टको मञ्च बनाउने जिम्मा पाएका थिए । स्टाडर गायक एडम्सको स्टेज बनाउने जिम्मेवारी पाएकोमा उनी निकै खुसी थिए । त्यो भन्दा बढी खुसी उनी नारायणी नदी किनारमा एमालेको स्टेज बनाउन पाएकोमा छन् ।

दशक अघि एडम्सको कन्सर्ट हुँदा त्यसमा त्यति धेरै डेकोरेसन नरहेको उनी बताउँछन् । अहिले एमालेले पाँच लाख मानिस उतार्ने दाबी गरेको नारायणी नदी किनार झकिझकाउ पार्न उनकै नेतृत्वमा ५० जना कामदार खटिरहेका छन् । एमालेकै शुभेच्छुक रहेका पटेल भन्छन्,’एडम्सको कन्सर्ट झकिझकाउ थिएन । महाधिवेशन स्थल रौनकमय बनाउन धेरै डेकोरेसन गर्नुपरेको छ । राजनीतिक दलका नेताहरूले हाम्रो कौशल पनि देख्न पाउनुहुनेछ धेरै खुसी छु ।’

विगतको भन्दा आर्थिक रूपले पनि हाल बढी सन्तुष्टि मिल्ने उनी बताउँछन् । उसो त एमालेको उद्घाटन सत्रको मञ्चको लागत मात्रै ४५ लाख रुपैयाँ रहेको छ । ‘यो मञ्चको लागत ४५ लाख रुपैयाँ रहेको छ । फ्लेक्स, प्लाई, फलामका पिलर मजदुरका ज्याला लगायतका कारण स्टेजको लागत त्यति पर्न जान्छ,’ पटेलले भने ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्